काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्डअनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको हो।
प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा गत भदौमा आव २०७५/७६ मा ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरिएको थियो । तर, नेपाल फाइनान्सियल रिपोर्टिङ स्टाण्डर्ड अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित प्राधिकरणले कूल १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
आव २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा संचित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानी थियो । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेपछि संचित कोष धनात्मकतर्फ अघि बढिरहेको छ । प्राधिकरणले आव २०७३/७५ र २०७४/७५मा खुद नाफा क्रमशः १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो ।
विद्युत चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकहरुसँगको विद्युतको औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्धि, प्राधिकरणका जलविद्युत आयोजनाहरुको उत्पादनमा वृद्धि, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयलगायतबाट संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।
प्रतिक्रिया दिनुहोस