
काठमाडौँ । माग २५ गतेदेखि सुरु भएको सरकार र मेडिकल सामान आपूर्तिकर्ता व्यवसायी बिचको लडाइ सकिएको छ । र साथै, नेपाली सेनालाई मेडिकल सामग्री सप्लायर्स बनाएसँगै सरकारले निजी क्षेत्रका व्यापारीसँगको सम्बन्ध पनि समाप्त भएको सङ्केत गरेको छ ।
नेपाल रसायन तथा मेडिकल आपूर्ति सङ्घ (क्यामिन)लाई पाखा लगाउँदै सरकारले चैत्र १५ गते केही मन्त्री र नेकपाका नेता निकट फर्मलाई कानुन विपरीत चीनबाट मेडिकल सामान ल्याउन दिएको ठेक्का विवादमा परेपछि क्यामिनमा आबद्ध व्यापारीहरू ‘खुच्चिङ’ भन्दै थिए । संचारमाध्यमहरुले एक पछि अर्को गर्दै स्वास्थ्य सचिवको धम्कीको समेत पर्बाह नगरी त्यो खरिद प्रक्रिया सही थिएन भनिरहे । प्रमाण पेस गर्न छाडेनन् । अन्ततः स्वास्थ्य सेवा विभागका महानिर्देशकले पत्रकार सम्मेलन मै घोषणा गर्नु पर्यो- सम्झौता रद्द गरियो । धरौटी जफत भयो ।
त्यही बेला उनले घोषणा गरे- अब आपूर्तिको लागी नेपाल रसायन तथा मेडिकल आपूर्ति सङ्घ (क्यामिन) का साथीहरूसँग नै छलफल र सल्लाह गरेर चाँडै आपूर्तिको व्यवस्था मिलाइने छ । तर, त्यो सल्लाह फेरी भएन । आफ्नालाई ‘मौकामा चौका हान्न’ दिएको अवसरको विरोधमा क्यामिनका पदाधिकारी नै सक्रिय भएपछि सरकार पक्ष निकै रिसायो । अनि त्यसको जवाफ दियो- त्यसो भए तिमीहरूलाई त कुनै हालतमा दिन्न बरु जे पर्छ पर्छ, सेनालाई दिइन्छ ।
तर, सरकारमा बसेकाले के थाहा पाएनन् भने सेनालाई आपूर्तिको जिम्मा दिनु भनेको आफू पूर्ण रूपमा असफल भएको प्रमाण पेस गर्नु हो । आखिर सो निर्णयले नेपाली सेनालाई व्यापारी बनाउने भएको छ । तर, वास्तविक व्यापारीले चीनमा खरिद गरिसकेको सामग्री ल्याउन भने सरकारले सहयोग गरेको छैन ।
दुई हप्ता पहिला नै क्यामिनका पदाधिकारीहरू चीनमा आफूहरूले अर्डर गरेको सामान ल्याउन सरकारले पहल गरिदिनपर्यो भनेर स्वास्थ्य मन्त्रालय गएका थिए । सो टोलीलाई स्वास्थ्य सचिव यादव प्रसाद कोइरालाले झपारेर पठाए । उनीहरूले सरकारलाई सहयोग गर्न भनेर लगेको मेडिकल सामाग्री लिन समेत इन्कार गरे । उनले त्यो बेला अब सरकारले आफैँ ल्याउँछ । तपाईँहरूको समान चाहिँदैन भन्दै मन्त्रालयबाट फिर्ता पठाएको क्यामिनका अध्यक्ष सुशेस घिमिरेले बताएका छन् । यसरी आपूर्तिकर्ता व्यापारीलाई दुर्व्यवहार गर्दै पठाएको केही दिन नबित्दै चीनबाट मेडिकल सामग्री ल्याउने तर त्यो काम क्यामिन अन्तर्गतका व्यापारीलाई नदिने निर्णय स्वास्थ्य मन्त्रालयले गर्यो । अन्ततः उनीहरुबाहेका फर्मबाट सामान ल्याउने निर्णय भयो ।
त्यतिसम्म छि छि दूर्दुर गर्दा पनि यी व्यापारीहरूले सरकारसँग मिलेर काम गर्ने सोच त्यागेनन् । यो महामारीमा हातेमालो गरेरै अगाडी बढ्ने सोच आफूहरूले बनाएको सङ्घका अध्यक्षले त्यो बेला बताएका थिए । सोही अनुसार उनीहरूले सरोकारवाला सबै निकायलाई चीनमा आफूहरूले खरिद गरेको सामग्री ल्याउन सहयोग गर्न अनुरोध गरे । सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्रीले पटक पटक यदि कसैले यो बेला आपूर्ति गर्छ भने सो बस्तुको ढुवानीमा सरकारले समन्वय र सहयोग गर्ने बताएका थिए । सोही आश्वासनको भर परेर उनीहरू सरकारी संयन्त्रलाई पछ्याए ।
तर, गत शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज मार्फत चीनको गोन्जाउबाट केही सामग्री ल्याइयो । जसमा ती व्यापारीले किनेर राखेका सामान परेनन् । जम्मा ४० टन समान ल्याउन सक्ने क्षमता भएकोको जहाजले जम्मा ७ दशमलव ५ टन मात्रै सामान मात्रै लिएर नेपाल आयो । व्यापारीहरूले खरिद गरेको समान भने २२ तँ मात्र थियो । त्यसले आफ्नो सामान ल्याईदेओस हामी लागेको भाडा तिर्छौँ भनेर क्यामिनका पदाधिकारीले गरेको दौडधुप आखिर काम लागेन ।
चीनमा मेडिकल सामान अर्डर गरेको एक महिना भइसक्दा र सरकारले ल्याउन सहयोग गर्ने आवश्वसन दिइरहेका बेलामा पनि गत शनिवार ४० टन क्षमताको विमान जम्मा साढे सात टन सामान बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भने अब यी व्यापारीहरू सरकारको भर नपर्ने निष्कर्षमा पुगेका छन् ।
स्रोतका अनुसार नेपाल एयर लाइन् सको सो विमान फ्ल्यास फ्लाइट लजिस्टिकले चार्ट गरेको थियो । उक्त कम्पनीले अन्य निजी क्षेत्रका कम्पनीको सामान पनि ल्याउने भनेको थियो । तर, कसको दबाबले सो विमान क्षमताभन्दा कम सामान लिएर नेपाल आयो ? अहिले यो प्रश्न प्रदान बनेको छ । कतै सरकारका मान्छेले हात धोएरै क्यामिनको पछि लाग्ने प्रण गरेको परिणाम त होइन यो ? नत्र, यो बेला मेडिकल सामग्री ढुवानी गर्न इन्कार गर्नुको कारण के हुनसक्छ ? यक्ष प्रश्न त यो हो कि के मेडिकल सामग्री आपूर्तिकर्तालाई सरकारले शत्रु करार गरेको हो ?
अब आफ्नो इसारामा नाच्ने बाहेकका मेडिकल सामग्री आयातकर्तालाई गरिखाने त के विपद्मा सहयोग गर्ने अवसर समेत नदिने कसम त कतै शक्तिमा बसेकाहरूले खाएका होइनन्, यो आशङ्का गर्नु नाजायज हुँदैन ।
चीनमा सामान अर्डर गरेर पनि ल्याउन नसकिरहेका कम्पनीहरूमा भण्डारी सर्जिकल हाउस, ओम सर्जिकल कन्सर्न, एएस इन्टरप्राइजेज, एबोर्ट बायो टेक, कोइका इन्टरप्राइजेज, वेब टेडिङ र विकास सर्जिकल कन्सर्न रहेको घिमिरेले जानकारी दिएका छन् । सरकारले कुनै सहयोग र साथ नदिएपछि चीनमा सामान अर्डर गरिसकेका व्यापारी अब आफैले विमान चार्टर गरेर सामान ल्याउने तयारीमा रहेको सङ्घका अध्यक्ष घिमिरेले आर्थिक न्युज डटकमलाई बताए । उनले भने, ‘विदेशी विमान चार्टर गर्न डलर चाहिन्छ तर अहिले डलर व्यवस्थापनमा समस्या भएकाले अब नेपाल एयरलाइन्सको विमान नै चार्टर गर्न साथीहरू लागिरहेका छन् ।’ व्यापारीहरूको ४०/५० टन सामान भएपछि आफै सामान ल्याउने तयारीका लागि विमान चाटर गर्ने प्रक्रिया अघि बढेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस