
काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यतिवेला शेयर बजारको कारोबार पूर्ण रुपमा बन्द छ । यस अवधिमा शेयर बजारको प्राथमिक र दोस्रो बजारनै ठप्प भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण धितोपत्र प्राथमिक तथा दोस्रो बजार प्रभावित भएको छ । प्राथमिक बजारमा हकप्रद शेयर विक्री गर्न तयारी गरेका शिखर इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सको हकप्रद शेयर रोकिएको छ ।
शिखर इन्स्योरेन्सले चैत १३ गतेदेखि ३० प्रतिशत हकप्रद विक्री गर्ने तयारी गरेको थियो । शिखरले उक्त हकप्रद विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट माघ ४ गते स्वीकृति पाएको थियो । स्वीकृति पाएको दुई महिनाभन्दा बढी समयपछि विक्री गर्न लागेको शिखरको हकप्रद अर्को सुचना जारी नगरेसम्मका लागि रोकिएको हो । शिखरले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजारको आधारमा ३० प्रतिशत हकप्रद शेयर विक्री गर्न लागेको हो ।
त्यस्तै चैत २० गतेदेखि विक्री खुला गर्ने तयारी गरेको गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद पनि लकडाउनकै कारण स्थगित गर्नुपरेको कम्पनीले जानकारी दिएको छ । गुराँस लाइफले हाल कायम चुक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजार चुक्तापूँजीको आधारमा शतपतिशत हकप्रद विक्री गर्न लागेको थियो । उक्त हकप्रद विक्री गर्न कम्पनीले माघ २१ गते बोर्डको स्वीकृति पाएको थियो । यी दुवै कम्पनीले सुचना जारी गरी आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर निष्कासन प्रकृया रोकिएको जानकारी गराएका हुन ।
कतिपय लगानीकर्ताहरु भने घरमै वसेका कारण कम्पनीहरुले जारी गरेको सुचना पाउन नसकेको देखिन्छ । ती लगानीकर्ताहरुले सामाजीक सञ्जालहरु मार्फत शिखर र गुराँस लाइफको हकप्रद के भैरहेको छ भन्ने प्रश्न गरेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस