
काठमाडौं । कोरोना भाइरस सक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको कारण कतिपय कम्पनीको शेयर निष्कासन स्थगित भए पनि प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयर भने विक्रीमै रहेको छ । प्रुडेन्सियलले गत फागुन १८ देखि चैत २३ गतेसम्मका लागि उक्त हकप्रद शेयर विक्रीमा ल्याएको थियो । सरकारले गरेको लकडाउन अवधिपूर्वनै विक्रीमा आएकाले शेयरधनीहरुको हितलाई ध्यानमा राख्दै हकप्रद विक्रीलाई अर्को सुचना जारी नभएसम्मका लागि निरन्तरता दिएको कम्पनीको भनाई छ ।
सार्वजनिक निष्कासनमा आवेदन दिनका लागि आस्वा प्रणाली अनिवार्य गरेसँगै घरमै वसेर अनलाईन मार्फत आवेदन गर्न सकिने हुदाँ पनि विक्रीलाई निरन्तरता दिएको कम्पनीले प्रष्ट पारेको छ । प्रुडेन्सियलले माघ २६ गतेसम्म कायम शेयरधनीहरुका लागि १० बराबर ६ को अनुपातमा ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।
एनएमबि क्यापिटल विक्री प्रबन्धक रहेको यस हकप्रदलाई इक्रा नेपालले आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ । हाल रू. ६४ करोड १५ लाख २० हजार चुक्तापूँजीको आधारमा ६० प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २ करोड ६४ लाख ३२ हजार पुग्नेछ । यो हकप्रद विक्री गर्न कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट गत पुस २९ गते स्वीकृति पाएको थियो ।
प्रुडेन्सियलले हकप्रद विक्री खुला गरेको चार दिन पछि फागुन २२ गतेदेखि एनएलजी इन्स्योरेन्सले पनि ६० प्रतिशत हकप्रद विक्री खुला गरेको थियो । यस कम्पनीले भने अहिलेको परिस्थिति सहज भएपश्चात नियामक निकायको स्वीकृति लिई विक्री खुला गर्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस