
काठमाडौं । कोभिड–१९ का कारण निर्जीवन बीमा बजारमा अर्बौंको अवसर सिर्जना भएको छ । अन्य व्यवसाय ठप्प भएको बेला निर्जीवन बीमा कम्पनीलाई भने कोभिड–१९ को बीमालेख जारी गर्ने अवसर जुटेको हो । थोरै प्रिमियममा सेवा भावले सामाजिक उत्तरदायित्वभित्र रहेर कम्पनीहरूले कोभिड–१९ को बीमालेख जारी गरेका नेपाल बीमक संघका अध्यक्ष दिपप्रकाश पाण्डेले बताए ।
‘यो बिमालेखमा सामुहिक बीमा गर्नेदेखि सर्वसाधारणसम्मको आकर्षण बढेको छ,’ उनले भने ‘जब महामारीको अवस्था आउँछ अवसरहरू सिर्जना हुन्छन् ।’ तर, हामीले यसलाई अवसरको रुपमा भन्दा पनि सेवाभावले न्यूनतम प्रिमियममा बीमालेख जारी गरेका छौं ।’ यसबाट हामीलाई नाफा चाहिदैन ।’ व्यवसाय टिकेमात्र पुग्छ ।’
यो बीमा पोलिसी नाफा कमाउनका लागि नभइ यसबाट केही कोष खडा गर्न सकियो भने भोलि यस्तै भइतव्यमा पर्दा नयाँ काम गर्न सजिलो हुने वा सहयोग मिल्ने उनले बताए । यो बीमा पोलिसीको प्रभाव कस्तो रहन्छ पछि मूल्यांकन गरेर प्रिमियममा पुनः हेरफेर गर्न सकिने अवस्था छ ।’
अहिले लकडाउनको अवस्था भएकोले अनलाइनमार्फत बीमा पोलिसीको प्रिमियम भुक्तानी भइरहेको उनले बताए । उनले भने ‘कति इमेलमार्फत त कति आफै अनुरोधमा कम्पनीहरूले पोलिसी बिक्री गर्नेे च्यानल मिलाइरहेका छन् ।’
कम्पनीहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर कोभिड–१९ को बीमालेख जारी गरेका उनले बताए । आजसम्म ३० हजार ५ जनाले बीमा पोलिसी इन्योड् गरेका छन् । यसबाट बीमा कम्पनीहरूले एक करोड ६१ लाख प्रिमियम संकलन गरेका छन् । सरकारी तथा सार्वजनिक संस्थानमा यो पोलिसी लैजान सके अझ राम्रो हुने अध्यक्ष पाण्डेले बताए ।
विना बिल भरपाइ ‘अन द स्पोट’ कोभिडको बीमांक भुक्तानी गर्छौः वियजबहादुर शाह
कोरोना भाइरसका कारण सारा विश्व नै ‘लकडाउन’ को अवस्थामा छ । कोरोना भाइरसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न २० वटा बीमा कम्पनीहरूले कोभिड–१९ बीमा पोलिसी बिक्रीमा ल्याएका छन् । करिब एक हप्ताको अविधिमा यो बीमा पोलिसी करिब ३० हजार जनाले लिइसकेका छन् भने करोडौं रकम बराबरको कभरेज भएको छ । लकडाउनका बेलामा पनि यो पोलिसी अनलाइनबाट खरिद गर्ने व्यवस्था गरिएकाले आम मानिसमा नपुगे पनि सबै क्षेत्रबाट उत्साहजना सहभागीता भइरहेको नेपाल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वियजबहादुर शाह बताए ।
एक लाख र पचास हजार रुपैयाँ गरी दुईवटा पोलिसी विक्रिमा ल्याएका छन् । २१ सय १७ वटा पोलिसी बिक्रि गरिएको यो योजना निम्न आय भएका मानिसका लागि ल्याइएको भएपनि प्रर्याप्त सूचना र पहुँच विस्तारमा भइरहेको समस्याका कारण त्यो वर्गमा यो पोलिसी पुग्न नसकेको शाह बताउँछन् । कोभिड १९ बीमा तत्काल क्षति बेहोर्ने पोलिसी भएकाले बीमा गरेको १५ दिनपछि पिसीआर टेष्टमा पोजेटिभ देखिएमा अन द स्पोट विना कुनै बिल भारपाइ भुक्तानी गर्ने गरिएको पोलिसी बनाएको उनले बताए ।
एक लाख वा पचास हजार रुपैयाँले ठूलो अर्थ राख्ने जनसंख्या नेपालमा ठूलो छ त्यो जनसंख्यामा अझ यो सूचना पुग्न सकेको छैन । उनले भने, देश पुरै लकडाउनमा छ सबैका आर्थिक गतिविध ठप्प छन् । यस्तो बेलामा एक लाख वा पचास हजारको ठूलो अर्थ राख्ने जनसंख्यासम्म यो सूचना पुगेको छैन कि भन्ने मेरो बुझाइ हो । अहिल सहरी इलाकाहरूमा रहेका जसको हालमा सूचना प्रविधिको पहुँच छ त्यो समूहमात्र यसमा आवद्ध भइरहेको उनले बताए ।
बीमा साधारण तय बीमा अधिकर्ताबाट बेचिने भएपछि यो विषम परिस्थितिमा सृजना गरिएको बीमा पोलिसी भएकाले यसमा बीमा पोलिसी खरिद गर्ने ग्राहक आफैले विभिन्न अनलाइन भुक्तानी प्रणालीका माध्यम प्रयोग गरेर खरिद गर्न सक्ने उनले बताए ।
यस्तो खालको महामारीका लागि बीमा कम्पनीहरूले कभरेजका लागि तयारी गरेका थिएनन् । २० वटा निर्जीवन कम्पनीहरु सबै मिलेर यो विषम परिस्थितिलाई सामाना गर्नका लागि आपत कालिन यो पोलिसी ल्याएका उनले बताए । उनले भने, ‘अहिले २० वटा बीमा कम्पनीले बीमा गराएर पुनर्बीमा कम्पनीलाई २० प्रतिशतको जोखिम दिन्छौ र बाँकी ८० प्रतिशत २० वटा कम्पनीले बराबर बेहोर्छौ ।’
चन्द्रागिरी नगरपालिकाले गर्यो ३५० जनाको कोभिड बीमा
राष्ट्रिय बीमा कम्पनीले हालसम्म तीन हजार जनाको प्रतिव्यक्ति ६ सय प्रिमियमका दरले १८ लाख रुपैयाँको कोभिड–बीमा गराएको छ । लघु बीमा पुलमार्फत गरिएको उक्त बीमा पोलिसीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिल्लीराज अर्यालले जानकारी दिए ।
चन्द्रागिरी नगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमार्फत आज ३५० जनाको कोभिड–१९, स्वास्थ्य तथा दुर्घटना बीमा गराएको छ । कम्पनीले आज सोमबार प्रतिव्यक्ति १० लाख बीमांक रकमका दरले ७८ जना जनप्रतिनिधिसहित कर्मचारी, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालक गरी जम्मा ३५० जनाको बीमा गराएको हो ।
नगरपालिकाले ६ लाख रुपैयाँको दुर्घटना बीमा, एक लाख बीमांकको स्वास्थ्य औषधोपचार, दुई लाखको घातक रोग, एक लाख रुपैयाँ बीमांकको कोभिड–१९ को बीमा गराएको राष्ट्रिय बीमा कम्पनीका मार्केटिङ अफिसर हिराकुमारी वक्तौलाले जानकारी दिइन् । यस अघि कम्पनीले राष्ट्रिय वाणिज्य बैंकको २४ कर्मचारीको पनि कोभिड–१९ को सामुहिक बीमा गराएको थियो ।
कोभिड पोलिसीमा चासो राख्नेहरूको संख्या ठूलो छः सीईओ खत्री
कोरोना भाइरसबाट हुने क्षतिमा सहजीकरणका लागि २० वटा बीमा कम्पनीहरुले कोभिड १९ बीमा पोलिसीको विक्रीमा उत्साहजनक सहभागीता रहेको अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले बताए । उनले भने, यो विषम परिस्थितिमा र छोटो तयारीमा पनि हालसम्ममा यो पोलिसी विक्रीबाट यसमा सहमागीता जनाउन चासो राख्नेहरूको संख्या ठूलो छ ।
अजोड इन्स्योरेन्सले यसभन्दा पहिला नै ४/५ वटा कम्पनीसँग बीमाका लागि सम्झौता गरिसकेको उनले बताए । कोभिड–१९ बीमा पोलिसी विपदको साथीका रुपमा ल्याएको पोलिसी भएका कारणले आम मानिस जसलाई यो बीमाले कभर गर्ने रकमले ठूलो महत्व राख्छ उनीहरूले अनलाइन भुक्तानीका माध्यमबाट पोलिसी खरिद गरिहेको उनले बताए ।
धेरै अनलाइन भुक्तानीका प्रणालीहरू विकास भएकाले लकडाउन भएकाले सबै जना घरबाहिर निष्कन नसक्ने अबस्थामा पनि घरमानै बसेर बीमा पोलिसी खरिद गर्न सक्ने भएकाले पनि यो पोलिसीमा आकर्षण बढेको उनको भनाइ रहेको छ ।
बीमा कम्पनीहरूले पनि यो समयमा आफ्ना ग्राहकलाई समय सापेक्ष रुपमा यस्तो सेवा दिन पाउँदा बीमा कम्पनीहरू पनि खुशी नै भएको उनले बताए । उनले भने, यो विषम परिस्थितिमा आम मानिसलाई घरमा नै बसेर भविष्यमा हुन सक्ने क्षतिको बीमा गराउन पाएका छौं यो विषम परिस्थितिको माग र आवश्यकता पनि हो ।
दैनिक बढ्दो क्रममा छः प्रिमियर इन्स्योरेन्स
प्रिमियम इन्स्योरेन्सले अनलाइनबाटै मार्केटिङ गरेर कोभिड–१९ को बीमालेख बिक्री गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले बताए । ‘कम्पनीले अहिलेसम्म ४५ वटा बीमा पोलिसी जारी गरिसकेको छ,’ उनले भने ‘यो दैनिक बढ्दो क्रममा छ ।’
ग्रामीण क्षेत्रसम्म फैलिदै कोभिड बीमा पोलिसी शिखर इन्स्योरेन्स
शिखर इन्स्योरेन्सले वैशाख ४ मा बीमा समितिले लघु बीमा पूलमार्फत कोभिड–१९ को बीमा लेख जारी गर्न निर्जीवन कम्पनीहरूलाई निर्देश गरेपछि शिखर इन्स्योरेन्सले ७ हजार ५०० पोलिसी बिक्री गरेर ३९ लाख ७३ हजार प्रिमियम संकलन गरेको छ ।
जुम्लाबाट मात्रै १ सय ५० जनाले कोभिड–१९ को इन्स्योरेन्स गराएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले बताए । ‘अझ यो बढ्दो क्रममा छ,’ उनले भने । देशभर सञ्चालित एक सय ३ शाखाबाट कोभिड–१९ को बीमा गराइ राखिएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस