aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

चाउमिन, मःम र  पकौडा नबन्दा टमाटर गाईगोरुलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २८ बैशाख २०७७
चाउमिन, मःम र  पकौडा नबन्दा टमाटर गाईगोरुलाई

बाँके । खजुरा गाउँपालिका–२, सी गाउँका गेनालाल मुराउका बारीमा गत वर्ष प्रतिदिन ४० क्विन्टल टमाटर निस्कन्थ्यो । प्रतिकिलो रु पाँचमा बिक्री गर्दा राम्रै नाफा हुन्थ्यो । यस वर्ष भने उनले १० हेक्टरमा रोपेको टमाटर गाईगोरुलाई खुवाएको बताएका छन । 

 टमाटर बजारमा पठाउने समयमा बन्दाबन्दी भएकाले बिक्री नहुँदा गाईगोरुलाई खुवाउनुपरेको मुराउले दुःखेसो गगरे । टमाटर खेती गरेरै आफ्नो परिवारको जीविकोपार्जन गरिरहेकाले बारीमै तरकारी कुहिएपछि समस्यामा परेको उनको भनाइ छ ।
 
घरैबाट बिक्री हुने टमाटर बन्दाबन्दीका कारण बजार नपाउँदा गरेको लगानीसमेत नउठेको खजुरा गाउँपालिका–८ ‘ए’ गाउँका खगेन्द्र बुढा क्षेत्रीले बताए । चार कठ्ठामा लगाइएको टमाटर बिक्री गर्न नपाउँदा कुहेर गएको उहाँको भनाइ छ । नेपालभन्दा भारतीय बजारबाट ल्याउन सस्तो पर्ने भएकाले व्यापारी उतै जाने गरेको उनले बताए ।

बन्दीबन्दीकै कारण बिक्री गर्न नपाएपछि नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरका मुनीर अहमद राहिनले एक बिघा बारीमा लगाएको बन्दागोभी कुहिएर नष्ट भएको छ । बन्दीबन्दीका कारण बजारमा लैजान नसक्दा करीब ५०० क्विन्टल बन्दा गोभीमध्ये ८० प्रतिशत कुहिएर नष्ट भएको उनले दुखेसो पोखे । बन्दा चाउमिन, मःम र  पकौडाका लागि बढी खपत हुने गरेको छ । होटल तथा रेष्टुरेन्ट बन्द भएकाले तरकारी बिक्री नभएको उनले बताए । 

बारीमा तरकारी कुहिएपछि दैनिकी कसरी टार्ने भन्ने चिन्ताले सताउन थालेको किसानको गुनासो छ । बन्दाबन्दी भएपछि अधिकांश किसानको तरकारी बारीमा कुहिएको छ तर सस्तोमा पाइने भएपछि व्यापारीले भारतीय बजारबाट तरकारी खरिद गर्ने गरेका छन् ।  बन्दाबन्दीकै समयमा रु पाँच करोड दुई लाख ९९ हजार ९८६ को तरकारी भारतबाट आयात गरिएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार दैनिक करीब पाँच ट्रकमार्फत तरकारी र फलफूल आयात भइरहेको छ । गत चैत ११देखि यही वैशाख २२ गतेसम्म १९ लाख ६४ हजार १२५ किलो विभिन्न जातका तरकारी  भित्रिएको भन्सार कार्यालयका आइटी अफिसर पवन थापाले बताए । उनका अनुसार अघिल्ला महिनाभन्दा तरकारी आयातमा कमी आएको छ । रासस

प्रतिक्रिया दिनुहोस