
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ३९ करोड ८२ लाख ६४ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । यो रकम गत वर्षको यसै अवधिसम्म रू. ३ करोड ३७ लाख ८२ हजार थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीले ११ दशमलव ७९ गुणा बीमाशुल्क आर्जन गरेको हो ।
गत वर्ष यस अवधिसम्म ४४६ बीमालेख कायम भएकोमा यस वर्ष ८ हजार ८७२ बीमालेख कायम भएको छ । यस वर्ष १ जनालाई रू. २ लाख बराबरको दाबी भुक्तानी कम्पनीले गरेको छ । बीमाशुल्क आर्जन बृद्धि भएसँगै कम्पनीको बीमा कोष रकम पनि उल्लेख्य मात्रामा बढेको छ ।
गत वर्ष तेस्रो त्रैमाससम्म रू. १ करोड ६९ लाख ७३ हजार रहेको जीवन बीमा कोष रकम यस वर्ष सोहि अवधिसम्म रू. ४९ करोड १९ लाख ५२ हजार पुगेको हो । यो रकम गत वर्षभन्दा यस वर्ष करिब २९ गुणा बढी हो । जगेडा कोष रकम भने शून्य दशमलव ७१ प्रतिशत बढी रू. ७ करोड २ लाख १६ हजार रहेको छ ।
कम्पनीले यस वर्ष नाफा भने ५ दशमलव ७२ प्रतिशत बढी गरेको छ । गत वर्ष रू. ६ करोड २२ लाख ५४ हजार खुद नाफा गरेको यो कम्पनीले यस वर्ष रू. ६ करोड ५८ लाख १७ हजार खुद नाफा गरेको हो ।
यस वर्ष आम्दानी १७ दशमलव ४२ प्रतिशत बढी रू. ११ करोड २१ लाखभन्दा बढी र खर्च ३९ दशमलव ३५ प्रतिशत बढी रू. ४ करोड ६२ लाख ८६ हजार भएको हो । हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेको कम्पनीले रू. ६० करोड बराबरको आईपीओ सर्वसाधारणमा जारी गरी चुक्तापूँजी रू. २ अर्ब कायम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस