aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
डेरीमा कोरोनाको असर

'डेरी उद्योगमा थप १५ हजार रोजगारी सिर्जना हुन सक्छ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २९ बैशाख २०७७
'डेरी उद्योगमा थप १५ हजार रोजगारी सिर्जना हुन सक्छ'

काठमाडौं । देशमा सञ्चालित डेरी उद्योगमा थप १५ हजार रोजगारी सिर्जना गर्न सकिने सिताराम गोकुल मिल्क लिमिटेडका प्रवन्ध निर्देशक सुमित केडियाले बताएका छन् । हाल देशमा सञ्चालित डेरी उद्योगमा ३० हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यदि डेरी उद्योगहरूमा थप लगानी गर्न सकियो र विदेशबाट आयात हुने डेरी जन्य वस्तु रोकियो भने तत्काल १० देखि १५ हजारसम्म रोजगारी सिर्जना गर्न सकिने उनले बताएका हुन् । ‘यसका लागि सरकारले आयातित डेरी उत्पादन सदाको लागि बन्द गर्नुपर्छ, नत्र डेरी उद्योग वर्षौसम्म पनि यसैगरी सञ्चालन भइरहन्छ ।’

यदि सरकारले आयातमा प्रतिवन्ध लगायो भने हामी तत्काल लगानी थपेर रोजगारी दिन तयार छौं,’ डेरी एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका केडियाले भने । देशमा आएको संकटलाई न्यूनीकरण गर्न तथा स्वदेशमा रोजगारी सिर्जना गर्न, कृषकहरूको जनजीवन उकास्न पनि अब सरकारले नयाँ नीति लिनुपर्छ ।

तत्कालै दुग्धजन्य पदार्थको आयात रोकेमा हामी सो पदार्थबाट देशलाई आत्मनिर्भर बनाउन सक्छौंं,’ उनले भने । अहिले वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कने तयारीमा छन्, उनीहरूलाई डेरी उद्योगमा रोजगारी सिर्जना गर्नुका साथै व्यवसायीक पशुपालनमा लगाउन सकियो भने स्थानीय तहमा अझ रोजगारी सिर्जना हुने उनले बताए ।  

लकडाउनका कारण आउटलेट खोल्न नपाउँदा घ्यू, वटर, पाउडर बिग्रने अवस्थामा पुग्न लागिसकेका छन् । सवारी साधन पासको व्यवस्था नहुँदा ४९ दिनदेखि आफै बन्दाबन्दी रहेका केडियाले अब पनि यी उत्पादन बिक्री गर्न नपाए बिग्रने बताए । ‘सवारी साधन पास नभएकोले कर्मचारी ल्याउन÷लैजान समस्या परेको छ,’ उनले भने ‘सरकारले पसलहरू खोल्न सहजीकरण गरिदिनुपर्छ ।’

अहिले देशमा सञ्चालित डेरी उद्योगबाट दैनिक साढे सात लाख लिटर दुध उत्पादन भइरहेको छ । सोमध्य लकडाउन शुरु भएयता १०/१५ प्रतिशतमात्र दुध बजारमा पुर्याउन सकिएको छ । यस्तो अवस्थामा हामी जस्तो उद्यमीले बजार पहुँच घटाउनुको विकल्प हुँदैन । बजार गुम्ने चिन्ता आम व्यवसायी परेका छौं । यस विषयलाई लिएर हामीले कुरा उठाइरहेका पनि छौं । भोलिका दिनमा बजारमा विदेशी उत्पादनले बजार पहुँच बढाउन सक्छन् । उत्पादन तथा वितरणमा समस्या भईरहँदा यो विषयमा सरकार गम्भिर हुनु पर्ने देखिन्छ,’ उनले भने ।

नेपालमा प्रत्येक दिन करिब ६२ लाख लिटर दुध उत्पादन हुने गरेको छ । सो दुधमध्य ५० प्रतिशत दुध किसान आफुले नै उपभोग गर्छ भने १७ प्रतिशत दुधमात्र औपचारिक क्षेत्र (उद्योगहरू) मा पुग्छ । ३३ प्रतिशत किसान आफैले प्रत्यक्ष पसल, होटल तथा रेष्टुरेन्टमा पुराउँछन् । हाल दैनिक साढे ७ लाख लिटर दुधको माग छ । यो क्रम दिन प्रतिदिन बढ्दो क्रममा रहेको थियो । अहिले बजार पहुँच गुमेको अवस्था छ ।

डेरी व्यवसायमा करिब २५ अर्ब लगानी रहेको छ । पाँच लाख किसानहरू यसमा आवद्ध छन् भने उद्योग स्तरमा हाल २० हजार भन्दा बढी आवद्ध छन् । कृषि क्षेत्रकाे कुल गार्हस्थ्य उत्पादनको ९ प्रतिशत यस क्षेत्रले सहयोग पुराएको छ । डेरी क्षेत्रबाट दैनिक शहरबाट गाउँमा प्रवाह भइरहेको छ । यो सेक्टरले वार्षिक एक अर्ब रुपैयाँभन्दा बढी राजस्व तिर्दे आएको छ । 

२० वर्षे कृषि रणनीतिमा सरकारले ३ वर्षभित्र दुधबाट देशलाई आत्मनिर्भर बनाउने उल्लेख गरिएको छ । यस अवधिमा दुध उत्पादनमा केही सुधार आएको छ । तै पनि यहि मितिबाट हामी आत्मनिर्भर हुन्छौं भन्न सक्ने अवस्था छैन । यस भित्र भएका विभिन्न कमी कमजोरीहरुलाई सुधार गर्दै अगाडी बढ्नु पर्ने देखिन्छ । मुख्यत अहिले दुध उत्पादनमा नै समस्या देखिएको छ ।

किसानले जबसम्म राम्रो दुध उत्पादन गर्न सक्दैनन्, तबसम्म हामी जस्ता व्यवसायीले बजारमा गुणस्तरीय दुध वितरण गर्न सकिदैन । गाई भैंसीमा नश्ल सुधारका साथै सन्तुलित आहारको व्यवस्थापन गर्न सकियो भने कम समयमा नै लक्ष्यमा पुग्न सकिने अवस्था भने अत्यधिक छ ।

हाल नेपाल सरकारले लाइभ स्टक इनोभेसन प्रोजेक्ट अगाडी सारेको छ । आठ अर्बको उक्त प्रोजेक्ट ४ अर्ब नश्ल सुधारका लागि र ४ अर्ब आहार व्यवस्थापनका लागि छुट्याएको छ । यसलाई सही ढंगले कार्यान्वयनमा लगियो भने समस्या समाधान सम्भाव छ । यस क्षेत्रमा अझै प्राविधिकको ठूलो समस्या छ । राम्रो प्राविधिक पाउन नसक्दा यसको असर व्यवसायमा समेत पर्ने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस