aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नयाँ निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स अगाडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०९ जेठ २०७७
नयाँ निर्जीवन बीमा कम्पनीमध्ये अजोड इन्स्योरेन्स अगाडी

काठमाडौं । नेपालको बीमा बजारमा २०७५ सालमा तीन नयाँ निर्जीवन बीमा कम्पनीहरुले प्रवेश गरेका हुन । अजोड, सानिमा जनरल र जनरल इन्स्योरेन्स नेपालको नयाँ निर्जीवन बीमा कम्पनीहरु हुन । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका यी कम्पनीहरुको उक्त विवरण हेर्दा व्यवसायिक रुपमा आक्रमक रहेको देखिन्छ । 

खुद नाफा देखि अन्य महत्वपूर्ण परिसूचकहरु मजवुत बनाउँदै कम्पनीहरु अघि बढेका छन् । तेस्रो त्रैमाससम्मको अवस्थालाई हेर्दा खुद नाफा र कुल बीमाशुल्क आर्जनमा अजोड इन्स्योरेन्स अघि देखिन्छ । अजोडले  ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ भने  ६० करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । 

त्यस्तै सानिमा जनरलले  २ करोड ८९ लाख रुपैयाँ खुद नाफा गर्दा  २६ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपालको खुद नाफा यस अवधिसम्म  ३ करोड ७ लाख रुपैयाँ छ । जनरल इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमाससम्म  ४१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

नेपालमा पुराना १७ निर्जीवन बीमा कम्पनीहरुका विच आफ्नो व्यवसायलाई सफल बनाउन यी कम्पनीहरु पनि अग्रसर रहेको देखिन्छ । पुराना निर्जीवन बीमा कम्पनीहरु चुक्तापूँजी बृद्धिको अभियानमा रहेको बेला बीमा समितिले यी कम्पनीहरुलाई भने सर्वसाधारणलाई शेयर जारी गर्ने गरि तोके बमोजिम चुक्तापूँजी कायम गर्नेगरि कारोबार सञ्चालनको अनुमति दिएका थियो ।

हाल तीन वटै कम्पनीको चुक्तापूँजी  ७० करोड रुपैयाँ छ । बाँकी  ३० करोड रुपैयाँको आईपीओ निष्कासनका लागि तीन वटै कम्पनीहरुले प्रकृया अघि बढाईसकेका छन् ।

तीनवटै कम्पनीहरुले वार्षिक साधारण सभा मार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेका छन् भने अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग गत माघ २१ गतनै अनुमति मागेको छ । आईपीओ पश्चात तीन वटै कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ । 

प्रतिक्रिया दिनुहोस