aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ११ जेठ २०७७
हिमालयन जनरल इन्स्योरेन्सको नाफा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षको भन्दा यस वर्ष ९ दशमलव ९२ प्रतिशत कम भएको छ । 

गत वर्ष तेस्रो त्रैमाससम्म १२ करोड ४९ लाख रुपैयाँभन्दाबढी खुद नाफा गरेको यस कम्पनीले यो वर्ष ११ करोड २५ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । गत वर्ष  २० करोड ७२ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको हिमालयन जनरलले यस वर्ष  १९ करोड ७ लाख रुपैयाँभन्दा बढी मात्र आम्दानी गरेको छ । आम्दानी घटेसँगै कम्पनीको नाफामा कमि आएको देखिन्छ ।

गत वर्षको तुलनामा यस वर्ष चुक्तापूँजीमा कुनै परिवर्तन देखिदैन । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ रहेको छ । ३० करोड रुपैयाँभन्दा बढी जगेडा कोष रहेको कम्पनीको बीमा कोष रकम  ५३ करोड रुपैयाँभन्दा बढी छ । यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले  ८६ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको छ ।

 यो रकम गत वर्षको यसै अवधिसम्म ९६ करोड रुपैयाँभन्दा बढी थियो । गत वर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन रकम समेत घटेको छ । गत वर्ष यस अवधिसम्म ४६ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष २२ करोड रुपैयाँभन्दा बढी गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी  १० दशमलव ९३ रुपैयाँ छ ।

 यस कम्पनीले आर्थिक वर्ष २०७५÷७६ को सञ्चित नाफाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ दशमलव ७५ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई बीमा समितिबाट स्वीकृति गराईसकेको छ । यस अघि ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले बीमा समितिको निर्देशनमा लाभांश परिमार्जन गरेको हो ।

प्रतिक्रिया दिनुहोस