aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

विकास योजना  र बजेट भुक्तानीको काम अन्तिम चरणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ जेठ २०७७
विकास योजना  र बजेट भुक्तानीको काम अन्तिम चरणमा

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्नो विकास बजेट र योजनाको काम अन्तिम चरणमा पुगेको जनाएको छ । 

गाउँपालिकाले विभिन्न योजनाको ६० प्रतिशत भुक्तानी र ९० प्रतिशत  योजनाको काम सम्पन्न भइसकेको जनाएको छ ।  चालु आर्थिक वर्षमा सञ्चालित अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्चेन शेर्पाले जानकारी दिए ।

योजनाको काम पनि ९० प्रतिशत सकियो बजेट पनि ६० प्रतिशत सकियो, असार मसान्तसम्म सबै योजनाका काम सम्पन्न गर्ने लक्ष्यअनुरुप काम भइरहेको गाउँपालिकाका लेखा अधिकृत आर्जन श्रेष्ठले जानकारी दिए ।

गाउँसभाले बजेट पारित गरेसँगै योजनाको ठेक्का सम्झौता गर्न आह्वान गरेको थियो । “तत्काल योजना कार्यान्वयमा लग्ने नीतिअनुरूप सम्झौता गरेका थियौँ”, अध्यक्ष शेर्पाले भन्नुभयो, “योजना सम्झौता गर्दा नै चैत मसान्तभित्र काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा तोेकेका थियौैँ । त्यहीअनुसार सबैले काम धमाधम गरेका छन् ।” 

हेलम्बु गाउँपालिकाले चालू आर्थिक वर्षमा रु ४० करोडको बजेट ल्याएको थियो । अध्यक्ष शेर्पाका अनुसार हेलम्बुमा निर्माणाधीन ग्रेडट्रेलको काम पनि धमाधम अगाडि बढिरहेको छ । 

लकडाउनले गर्दा समस्या त भएका छन् तर समस्याका बाबजुद पनि ग्रेडट्रेलको काम सञ्चालन भइरहेको शेर्पाले बताउनुभयो । त्यस्तै हेलम्बु गाउँपालिकाले नागरिकलाई दिने सेवा सुविधा सहजरुपमा उपलब्ध गराइरहेको छ । 

सेवा लिनका लागि गाउँपालिका आउने जोकोहीलाई पनि दूरी कायम गरेर सेवा दिइरहेको हेलम्बु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए ।
 

प्रतिक्रिया दिनुहोस