
जनरल इन्स्योरेन्स कम्पनी नेपालले दोस्रो वार्षिक साधारण सभा जेठ २३ गते बोलाएको छ । कम्पनीले यस अघि चैत १४ गते उक्त सभाको मिति तय गरेको थियो । लकडाउनका कारण स्थगित भएको कम्पनीको उक्त सभा पुनः आव्हान गरिएको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्नेछ ।
साथै सञ्चालक समितिका पदाधिकारीहरुको सुविधाको विषयमा पनि छलफल गरी पारित गर्ने कार्यक्रम सभाका लागि तय भएको छ । कोरोना संक्रमणकै समयमा सभा गर्न लागिएकाले विशेष सावधानी अपनाएर सभा गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।
सभा उपस्थित हुनेहरुले सामाजीक दुरी कायम गरि बनाईएको कुर्चीमा अनुशासन पुर्वक बस्नुपर्ने व्यवस्था कम्पनीले गरेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार,काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने यस कम्पनीको हाल ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । यस कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम गर्नेछ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव भने गत साउन २९ गते सम्पन्न पहिलो वार्षिक साधारण सभाबाट पारित गरी प्रकृया अघि बढाएको छ ।
कम्पनीले आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरिसकेको छ । यस वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ३ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ भने ४१ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
प्रतिक्रिया दिनुहोस