aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विद्युत विक्री घटेसँगै चिलिमेको नाफा घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ जेठ २०७७
विद्युत विक्री घटेसँगै चिलिमेको नाफा घट्यो

काठमाडौं ।गत वर्षको तेस्रो त्रैमासको तुलनामा यस वर्ष चिलिमेको खुद नाफा घटेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस वर्ष रू. ५२ करोड ५६ लाख ४६ हजार खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिभन्दा ३ प्रतिशत कम हो ।

 गत वर्ष कम्पनीले यस अवधिसम्ममा  ५४ करोड ३६ लाख ७० हजार रुपैयाँ थियो । गत वर्षभन्दा यस वर्ष विद्युत विक्री आम्दानीमा कमि आएकाले नाफा घटेको वित्तीय विवरणले देखाउँछ । गत वर्ष यस अवधिसम्म ८० करोड ७५ लाख ५५ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको चिलिमेले यस वर्ष  ८० करोड ३७ लाख १८ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । गत वर्षभन्दा यस वर्ष शून्य दशमलव ४८ प्रतिशत कम विद्युत विक्री आम्दानी भएको हो । 

नेपाल विद्युत प्राधिकरणले यस वर्ष कम विद्युत उर्जा खरिद गरेकाले विद्युत विक्री आम्दानीमा कमि आएको कम्पनीको भनाई छ । चिलिमेको चुक्तापूँजी भने  ५ अर्ब ७० करोड ९७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यस वर्ष २० प्रतिशत बोनस शेयर मार्फत चिलिमेले चुक्तापूँजी बढाएको हो ।

गत वर्ष यस अवधिसम्म कम्पनीको चुक्तापूँजी  ४ अर्ब ७५ करोड ८१ लाख ३६ हजार रुपैयाँ थियो । जगेडा कोष रकम पनि ९ दशमलव ७१ प्रतिशतले कम भएको छ । गत वर्ष  ४ अर्ब ५१ करोड ६ लाख ९८ हजार रुपैयाँ रहेको जगेडा कोष रकम यसवर्ष सोहि अवधिसम्म ४ अर्ब ७ करोड २७ लाख १७ हजार रुपैयाँ कायम भएको छ । 

गत वर्ष यस अवधिमा  १५ दशमलव २३ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी यस वर्ष  १२ दशमलव २७ रुपैयाँमा खुम्चिएको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ पनि गत वर्ष १९४ दशमलव ८ रुपैयाँ रहेकोमा यस वर्ष १७१ दशमलव ३३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस