aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 
बजेट

रातारात दोब्बर भयो विद्युतीय गाडीको मूल्य, ५ गुणासम्म बढ्यो कर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
रातारात दोब्बर भयो विद्युतीय गाडीको मूल्य, ५ गुणासम्म बढ्यो कर

काठमाडौं ।  अर्थमन्त्री डा. युवराज खतिवडाले पेट्रोलिमय सवारी साधनभन्दा महँगा विद्युतीय सवारी साधन आयात हुन थालेपछि कर बढाएका छन् । सरकारले विद्युतीय सवारीसाधनमा ५ गुणासम्म कर बढाएर त्यसको मूल्य एकैपटक दोब्बर पुर्याइदिएको छ । सरकारले चाहेमा एक्कै दिन व्यवसायलाई माथि उठाउन पनि सक्छ र ठलाउन पनि सक्छ भन्ने यो गतिलो उदाहरण हो । भन्सार महसुल र अन्तःशुल्कमा मूल्य अभिवृद्धि लगाउँदा विद्युतीय सवारी साधनको मूल्य दोब्बरको हुन पुगेको हो ।

सरकारले लिएको पछिल्लो नीतिगत व्यवस्थाले विद्युतीय सवारी साधनको बिक्री गर्दै आएका व्यवसायीहरूलाई नराम्ररी प्रभावित बनाएको छ । लक्ष्मी गु्रपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले अब विद्युतीय सवारी साधन बिक्री गर्न नसक्ने अवस्थामा पुगेको बताए । ‘सरकारको अस्थिर नीतिका कारण हामी सरकारलाई गाडी जिम्मा लगाउने अवस्थामा पुगेका छौ,’ उनले भने ‘नेपालमा विद्युतीय गाडीको भविष्य नै समाप्त पारिदियो आगामी आवको बजेटले ।’

बिहीबार बजेट वक्तव्यसँगै पेश भएको आर्थिक विधेयकमा अर्थमन्त्री युवराज खतिवडाले अन्तःशुल्क र मूल्य भन्सार महसुललाई परिमार्जन गर्दै विद्युतीय सवारीको कर बढाएका हुन् ।  प्रदुषण र वातावरण संरक्षण गर्ने भन्दै सरकारले यस अघि यस्ता सवारी साधनलाई प्रोत्साहन गर्ने जम्मा १० प्रतिशत भन्सार महसुल लगाएको थियो । अहिले भन्सार महसुललाई ४ गुणाले बढाएर ४० प्रतिशत पुर्याइएको छ ।

यस्ता सवारी साधनले वातावरणमा कुनै असर नपार्ने भएकोले अन्तःशुल्क लगाइएको थिएन । तर, नयाँ आर्थिक ऐनमा अन्य सवारीजस्तै यो सवारी साधनमा समेत ५० प्रतिशतसम्म अन्तःशुल्क निर्धारण गरेको छ । सरकारले किलोवाटको आधारमा  विद्युतीय गाडीको अन्तःशुल्क निर्धारण गरेको छ । बजेटमार्फत विद्युतीय गाडीमा सरकारले क्षमता (किलोवाट) अनुसार ४० देखि ८० प्रतिशतसम्म अन्तःशुल्क निर्धारण गरिएको छ । अहिले १०० किलोवाटसम्म क्षमता भएको विद्युतीय सवारीमा ४० प्रतिशत र त्योभन्दा माथि क्षमता भएका सवारी साधनमा ५० प्रतिशत अन्तःशुल्कको व्यवस्था गरेकोे छ ।

सरकारले विदेशबाट आयात हुने सवारीसाधनमा भन्सार महशुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर र सडक मर्मत शुल्क गरी ४ प्रकारका शुल्कहरू लगाउँदै आएको छ ।

यस्तो दिए अर्थमन्त्रीले कर बढाउनुको स्पष्टता

आज शुक्रबार बजेटपछिको भर्चुअल प्रेस कन्फरेन्समा बोल्दै उनले भने ‘पेट्रोलियम पदार्थ खपत कम गर्न विद्युतीय सवारी साधन आयात खुकुलो पािरएपछि अझ महँगा गाडी भित्रिए ।’ त्यसैले कर बढाउन आफू बाध्य भएको उनले बताए । ‘विद्युतीय सवारी साधनलाई जसरी प्रोत्साहन गरिएको थियो, त्यो अनुरुप प्रतिफल प्राप्त नभएपछि कर बढाएको हो,’ उनले भने ‘पेट्रोलियम खपत कम गर्न विद्युतीय सवारी साधन आयात खुकुलो पारिएको थियो ।’

तर, महँगा विद्युतीय गाडीहरू आयात भएको उनले बताए । यसले दुई वर्षको पेट्रोलियम आयात धान्ने पैसा विद्युतीय गाडी आयातमा गयो, अनि कर बढाएको हुँ ।’ सवारी साधनको क्षमता अनुसार कर बढाइएको छ ।’ सस्ता मूल्यका गाडीमा कर नबढाएको पनि उनले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस