
काठमाडौं । सरकारले विद्युतीय सवारी साधनमा कर बढाएपछि अटोमोवाइल्स एसोसियसन अफ नेपाल ‘नाडा’ यसको विरुद्धमा उत्रने भएको छ । नाडाले आज आइतबार पत्रकार सम्मेलन गरेर सरकारले बजेटमार्फत वृद्धि गरेको करको विरोधमा उत्रन लागेको हो ।
सरकारले लिएको पछिल्लो नीतिगत व्यवस्थाले विद्युतीय सवारी साधनको बिक्री गर्दै आएका व्यवसायीहरूलाई नराम्ररी प्रभावित बनाएको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । ‘सरकार आफैले प्रवद्र्धन गरेको व्यवसाय एउटा नीतिगत व्यवस्थाले ध्वस्त बनाइ दिएको छ,’ उनले भने ‘अब हामी विद्युतीय सवारी साधन ल्याएर बिक्री गर्न सक्ने अवस्थामा छैनौ ।’
सस्तोमा गाडी खरिद गर्दै आएका उपभोक्ताले दोब्बर मूल्य तिरेर किन्दैनन् ।’ हाम्रो यो क्षेत्रमा भएको लगानी डुब्ने भयो । लकडाउनका कारण करिब ८ सयदेखि एक हजारसम्म गाडी बाटोमा अड्किएको समेत उनले जानकारी दिए । एकै पटक यसरी भारी कर बढ्दा अब ती सवारीसाधन कसरी बिक्री गर्ने भन्ने ठूलो समस्यामा व्यवसायीहरू परेका छन् ।
बिहीबार बजेट वक्तव्यसँगै पेश भएको आर्थिक विधेयकमा अर्थमन्त्री डा.युवराज खतिवडाले अन्तशुल्क ऐन र भन्सार ऐनलाई संशोधन गर्दै विद्युतीय सवारी साधनको भन्सार महशुल र अन्तःशुल्क समेत बढाएका छन् ।
‘गाडी लगेर सरकारलाई बुझाउँछौं’
सरकारले आगामी आवको बजेटमार्फत इलेक्ट्रोनिक सवारी साधनमा भन्सार महसुल र अन्तःशुल्कमा मूल्य अभिवृद्धि लगाउँदा अहिले विद्युतीय सवारी साधनको मूल्य दोब्बर हुन पुगेको हो । आर्थिक विधेयक २०७७ ले विद्युतीय सवारी साधनको कर ४० देखि ८० प्रतिशतसम्म बढाएको छ । कर बढेपछि यो सवारीसाधनको बिक्री हुनै नसक्ने व्यवसायीको ठम्याइ छ ।
लक्ष्मी गु्रपका कार्यकारी निर्देशक अन्जन श्रेष्ठले अब विद्युतीय सवारी साधन बिक्री गर्न नसक्ने अवस्थामा पुगेको बताए । ‘सरकारको अस्थिर नीतिका कारण हामी सरकारलाई गाडी जिम्मा लगाउने अवस्थामा पुगेका छौ,’ उनले भने ‘बजेटले नेपालमा विद्युतीय गाडीको भविष्य नै समाप्त पारिदिएको छ ।’
यसै पनि दुई वर्षयता कर नीति र बैंकले प्रदान गर्ने कर्जाको कारण सवारी साधनको आम्दानी घट्दै गएको थियो । सरकारले इन्धन खपत घटाउन र प्रदुषण कम गर्न भन्दै आर्थिक ऐन २०७६ मार्फते ‘हाइब्रिड’ गाडीको आयातमा ५० प्रतिशत भन्सार छुट दिएको थियो । अहिले सो व्यवस्थालाई भने यथावतै राखेर स्वच्छ इन्धनबाट चल्ने विद्युतीय सवारी साधनको मात्र कर बढाएको छ ।
नेपालमा हाल एमजी मोटर्स, किया, महेन्द्र, पेरोरुडा, हुण्डाईलगायतका कम्पनीको इलेक्ट्रोनिका सवारी साधन बिक्री हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस