aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

रोजगारी गुमाएकालाई गाउँमै काम दिने तयारीमा प्रदेश सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० जेठ २०७७
रोजगारी गुमाएकालाई गाउँमै काम दिने तयारीमा प्रदेश सरकार

काठमाडौं । प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागिएको बताए । 

उनले भारतसहित तेस्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिब १० लाख नेपाली फर्कने अवस्था रहेकाले उनीहरुलाई स्वदेशमा नै कृषितर्फ आकर्षित गर्नेगरी कार्यक्रम ल्याउन लागिएको बताए । रोजगारी गुमाएर स्वदेश फर्किनेलाई प्रदेश सरकारले उपलव्धिमूलक रोजगारीसँग जोड्नेसमेत उनले बताए । “ उपलब्धिमूलक रोजगारमा उनीहरुलाई संलग्न गराउने छौँ”, उनले भने। 

प्रदेश २ सरकारले कृषि क्षेत्रमा युवालाई लगाउने तयारी गरिरहेको मुख्यमन्त्रीको भनार्इ छ । “अब आउने युवा जनशक्तिलाई कृषि उत्पादनमा लगाएर उत्पादकत्व बढाउने गरी हामी काम गर्नेछौँ”, उनले भने । उनले प्रदेश नं २ बाट भारतमा पाँच लाख तथा खाडी र मलेसियालगायत मुलुकमा झण्डै आठ लाख युवा रोजगारीको सिलसिलामा रहेको जानकारी दिए ।

“कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएका पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि उत्पादन बढ्ने अवस्था हुन्छ”, मुख्यमन्त्री राउतले भने । यद्यपि प्रदेश २ मा मात्रै झण्डै १० लाख नागरिक फर्किने अवस्था रहेकाले तिनको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस