aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
नवप्रवर्तन पुँजी

नयाँ व्यवसाय गर्नेलाई सरकारले ५० लाखसम्म अनुदान दिन माग्यो प्रस्ताव (मापदण्ड सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
नयाँ व्यवसाय गर्नेलाई सरकारले ५० लाखसम्म अनुदान दिन माग्यो प्रस्ताव (मापदण्ड सहित)

काठमाडौं । राष्ट्रिय योजना आयोगले उद्यम व्यवसायमा नयाँ प्रवेश गर्न चाहने व्यक्ति वा संस्थालाई अनुदान उपलब्ध गराउन प्रस्ताव माग गरेको छ । आयोगले ३० दिनको सूचना जारी गरेर नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारकर्ता, उद्यमी व्यवसायी, व्यक्ति वा संस्थालाई नयाँ उद्यम व्यवसाय सञ्चालन गर्न अुनदान उपलब्ध गराउन लागेको हो । ‘नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी कार्यविधि, २०७६ तथा नवप्रवर्तन शुरुवाती पुँजी अनुदान सम्बन्धी मापदण्ड, २०७७ मार्फत यस्तो पुँजी उपलब्ध गराउन लागेको हो ।  

नयाँ उद्यम व्यवसाय गर्न चाहने इच्छुक व्यक्ति, व्यवसायी वा संस्थाले कार्यविधिमा तोकिएको मापदण्डहरू पुरा गरेर अनलाइनमार्फत राष्ट्रिय योजना आयोगमा पठाउनु पर्नेछ । आयोगले प्रस्ताव आव्हन गरेको ३० दिनभित्र उक्त प्रस्ताव आयोगमा पुगिसक्नु पर्नेछ । आयोगले यहि वैशाख २९ गते नवप्रवर्तन शुरुवाती पुँजी अनुदानको प्रस्ताव आव्हन गरेको हो । 

नवप्रवर्तन पुँजी अनुदान माग गर्दा न्यूनतम १० लाखदेखि अधिकतम एक करोडसम्मको कार्यको लागि लागतको बढीमा ५० प्रतिशत रकम माग गर्न सकिने छ । एक व्यक्ति वा फर्मले एउटामात्र कार्यको लागि प्रस्ताव पेश गर्न पाउने छ । यसको अर्थ कुनै व्यक्ति वा फर्मले एक करोडको उद्यम गर्न चाहेर यो अनुदान प्राप्त गर्न सक्यो भने उल.सले ५० लाखसम्म अनुदान पाउने छ । 

व्यवसायिक योजना अनुसार उद्यमी व्यवसायीको स्वःलगानीको अवस्था, नेपाल सरकारबाट अनुदान माग गरेको रकम र अन्य लगानी साझेदारी समेत प्रस्तावमा स्पष्ट पारेको हुनुपर्नेछ । प्रस्ताव संस्था वा व्यक्तिले स्थायी लेखा नम्बर लिएको हुनुपर्नेछ ।

अनुदान पाउनका लागि व्यक्ति वा संस्थाको आवश्यक योग्यता

स्वःअध्ययन तथा अनुसन्धानबाट सार्वजनिक हितका लागि कुनै वस्तु वा सेवाको अवस्किार गर्ने आविष्कारकर्ता व्यक्ति वा संस्थाले मात्र नवप्रर्वतन शुरुवाती पुँजी अनुदान पाउने छन् । नवीव ज्ञान, सीप, प्रविधि र क्षमता प्रयोग गरी वस्तु वा सेवा उत्पादन गर्ने लघु, घरेलु, साना तथा मझौला उद्योग, फर्म वा कम्पनी यस्तो पुँजी पाउनका लागि योग्य हुने मापदण्डमा उल्लेख गरिएको छ । बाली वस्तुको औद्योगिक प्रयोग गर्ने खालका आधुनिक प्रविधिहरू जसले उत्पादन लागत घटाउन सहयोग गर्ने आविष्कारकर्ता व्यक्ति वा फर्म पनि यो नवप्रर्वतन पुँजी अनुदान पाउन योग्य हुनेछन् । 

नवप्रवर्तनीय कार्य प्रविधिको माध्यमबाट कम समय, कम लागत, छिटो छरितो, ऊर्जाको उपयुक्त प्रयोग तथा कम स्रोतको उपयोग गरी उच्च गुणस्तरको अविष्कार तथा प्रणाली विकास गर्ने सूचना प्रविधि, कृषि, ऊर्जा, स्वास्थ्य सेवा, पर्यटनलगायतका व्यवसाय हुनसक्नेछन् । नवप्रवर्तनीय कार्य सम्पन्न हुने अवधि बढीमा डेढ वर्षको हुनेछ । 

प्रतिक्रिया दिनुहोस