aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
बजेट

विद्युत उत्पादन र प्रशासण लाइन क्षमता बढाउने महत्वाकांक्षी सरकारी योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
विद्युत उत्पादन र प्रशासण लाइन क्षमता बढाउने महत्वाकांक्षी सरकारी योजना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा विद्युत उत्पादन क्षमतालाई बढाएर कुल ३ हजार मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।  चालु आवको उत्पादन क्षमता १३८६.८ मेगावाटलाई बढाएर  ३ हजार मेगावाट पुर्याउने अपेक्षा सरकारले गरेको छ । आगामी बजेटको अपेक्षित उपलब्धिमा विद्युत उत्पादन क्षमता १६१३.२ मेगावाटले बढाएर कुल विद्युत उत्पादन बढाउन लागेको हो । 

उत्पादन क्षमता बढाउने लक्ष्य सहित सरकारले आम नागरिकलाई विद्युत उपभोग बढाउन पनि भनेको छ । खाना पकाउन ग्यासको सट्टा विद्युत उपयोग गर्न तथा इन्टक्शन चूलोको प्रयोग बढाइ समग्रमा प्रति व्यक्ति विद्युत खपत बढाउन भनेको छ । चालु आवमा रहेको प्रतिव्यक्ति विद्युत खपत ९० किलोवाट घण्टाले बढाएर ३५० किलोवाट घण्टा पुर्याउने उद्देश्य सरकारले लिएको छ । अहिले प्रति व्यक्ति २६० किलोवाट घण्टा विद्युत खपत रहेको छ ।  

सरकारले विद्युत उत्पादन र खपत दुबै बढाउने विभिन्न योजना अघि सारेको छ । आगामी आवमा माथिल्लो तामाकोशी, रसुवागढी, माथिल्लो सान्जेन, मध्य भोटेकोशी र निजी लगानीकर्ताबाट प्रवद्र्धित साना तथा मझौला आयोजना सम्पन्न गरी कुल एक हजार ३ सय मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको छ । त्यस्तै विद्युत उत्पादनलाई बढाउन नदी प्रणालीमा आधारित, अर्ध जलाशययुक्त र जलाशययुक्त आयोजनालाई मिश्रण रुपमा विकास गर्ने भएको छ । 

दुध कोशी जलाशययुक्त विद्युत आयोजना चार अन्तर्राष्ट्रिय वित्तीय संस्थाको समिश्रित वित्त लगानी विधिबाट निर्माण गर्ने सरकारले तयारी थालेको छ । नेपालको पानी जनताको लगानी अभियान अन्तर्गत आगामी आवमा माथिल्लो अरुण, किमाथान्का अरुण, फुकोट कर्णाली, तामाकोशी ५, चैनपुर  सेती, जलदुल्ला लगायतका आयोजना निर्माण प्रक्रिया थाल्ने भएको छ ।  बूढीगण्डकी, पश्चिम सेती, कर्णाली चिसापानी, नलवाड, उत्तरगंगाा, आँधीखोला र नौमुरे बहुउद्देश्यीय आयोजनकाृ लगानी ढाँचा पनि यकिन गर्ने तयारी सकारको रहेको छ । 

२२९३ किलोमिटर विद्युत प्रसारण लाइन विस्तार

सरकारले आगामी आर्थिक वर्षमा २२ सय ९३ किलोमिटर प्रसारण लाइन विस्तार गरेर ११ हजार ७ सय ३० किलो मिटर पुर्याउने भएको छ । सो विस्तार गर्ने प्रसारण लाइनमध्य ६६ के.भी.भन्दामाथिको प्रसारण लाइन विस्तार १४ सय ७८ किलोमिटरले बढाएर ५७ सय ३० किलोमिटर पुर्याउने भएको हो । यस आवमा उक्त क्षमताको प्रसारण लाइन विस्तार ४२ सय ५२ किलो मिटरमात्रै पुग्ने आगामी आवको बजेटमा उल्लेख गरिएको छ । ३३ के.भी. प्रसार लाइन विस्तार पनि ६ हजार किलोमिटर पुर्याउने भएको छ । हाल उक्त क्षमताको प्रसारण लाइन विस्तार ५१ सय ८५ किलोमिटरमात्र रहेको छ । 

सरकारले झापाको अनारमनीदेखि कञ्चनपुरको महेन्द्रनगरसम्म , लप्सीफेदी–रातामाटे–हेटौडा र लप्सीफेदी–रातामाटे–दमौली–बुटवल तथा ढल्केवर–मुजफ्फरपुर ४०० के.भी. क्षमताको अन्तरदेशीय प्रसारणलाइन निर्माण अघि बढाइने योजना अघि सारेको छ । 

तीन प्रदेश बाहेक अन्यमा सबै प्रदेशमा विद्युतीकरण गरिने

सरकारले राष्ट्रिय विद्युत प्रणालीबाट विद्युत पहुँच प्राप्त गर्ने जनसंख्या प्रतिशत बढाउने लक्ष्य लिएको छ । हालको ९०.०१ प्रतिशतलाई बढाएर ९६ प्रतिशत पुर्याृउने सरकारी योजना रहेको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ भने प्रदेश २, वागमती, गण्डकी र प्रदेश ५लाई भने पूर्ण विद्युतीकरण गर्ने भएको छ । प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चित प्रदेशमा भने आगामी आवमा ९६ प्रतिशत जनसंख्यामा विद्युत पहुँच पुग्ने सरकारको अपेक्षा छ । 

विद्युत चुहावट भने ०.५७ प्रतिशतले घटाएर १३.५ प्रतिशतमा झार्ने तयारी सरकारको रहेको छ । केही वर्ष अघिसम्म कुल विद्युत खपतको एक चौथाइभन्दा बढी विद्युत चुहावट हुने गरेको थियो । 

प्रतिक्रिया दिनुहोस