aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

लकडाउन उलंघन गर्ने बढे, आजै मात्रै ४,१०७ सवारी नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
लकडाउन उलंघन गर्ने बढे, आजै मात्रै ४,१०७ सवारी नियन्त्रणमा

काठमाडौं। नेपाल सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गरेर विना काम, विना पास र अत्यावश्यक काम बाहेक सवारी साधन चलाउने उपर चेक जाँचमा ट्राफिक प्रहरीले थप कडाई गरि नियन्त्रणमा लिएको छ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखी आम नागरिकहरूको अत्यावश्यक सेवा र कामलाई थप सहजीकरण गर्दै उपत्यकाको मुख्य नाकाहरू, मुख्य सडक तथा भित्री सडकहरूमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचमा कडाई गरेको हो । 

आज मात्रै काठमाण्डौ उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ३,६४७ वटा २ पाङ्ग्रे र ४६० वटा ४ पाङ्ग्रे गरी जम्मा ४,१०७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद  ढकालले दिए । उनले भने स्( “आज विहान ६ बजे देखि वेलुका ७ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो ।”

लकडाउन खुकुलो भन्ने गलत कुराको पछाडी नलाग्न, कुनै पनि हल्ला, भ्रममा नपर्न र लकडाउनको पूर्ण पालना गर्न तथा उच्च सुरक्षा सतर्कता अपनाउन महाशाखाका प्रमुख ढकालले अनुरोध गरेका छन् । 

लकडाउनमा विना काम बाहिर ननिस्कन र घरमै बसेर कोरोनाबाट बच्न गरिएको आग्रह लत्याउँदै विना काम बजार घुम्न, आफन्त भेट्न र रमाईलो गर्न निस्कने र पास नलिई सवारी चलाउने गरेको पाइएपछि त्यस्ता सवारी साधन नियन्त्रणमा लिनु परेको ढकालले बताए ।

केहि दिन यता लकडाउन खुकुलो भएको ठान्दै सडकमा चहलपहल बढेपछि पुनः अझ बढी कडाई गर्न थालेको र पासको दुरूपयोग गर्ने उपर पनि महाशाखाले विशेष निगरानी तथा चेकजाँच गरि कारबाही गर्न थालेको जानकारी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए। उनले काठमाडौँ उपत्यकामा चैत्र ११ गतेदेखि आजसम्म लकडाउन उल्लङ्घन गर्ने ६१,४०६ वटा सवारी साधनहरू नियन्त्रणमा लिईसकेको बताए ।
 

प्रतिक्रिया दिनुहोस