aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

प्रिमियर इन्स्योरेन्सले साधारण सभा बोलायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
प्रिमियर इन्स्योरेन्सले साधारण सभा बोलायो

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारण सभा असार १९ गते बोलाएको छ । कम्पनीले प्रिमियर भवन, नक्साल, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । सभाले आर्थिक वर्ष २०७५/७६ वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाव, वासलत तथा नगद प्रवाह विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

 साथै सर्वसाधारणको तर्फबाट २ जना संचालकको निर्वाचन समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार ४ गतेदेखि बुक क्लोज गर्ने मिति तय गरेको छ । यस आधारमा बजार सुचारु भए त्यस भन्दा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु सभामा भाग लिन पाउनेछन् । 

आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट ८४ प्रतिशत बोनस शेयर वितरण गरेको यस कम्पनीले यस वर्ष भने लगानीकर्ताहरुको हात खाली गरेको छ । हालसम्मै उत्कृष्ट लाभांश कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको हो ।

 बीमा समितिको निर्देशन बमोजिम  १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न कम्पनीले आकर्षक बोनस शेयर वितरण गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा २६ करोड ७ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । यस अवधिसम्म कम्पनीले १९ करोड ४ लाख ५४ हजार रुपैयाँ खुद नाफा गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषमा ५९ करोड ७ लाख ५९ हजार रुपैयाँ रहेको छ । 

यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले १ लाख ९ हजार ७०९ बीमालेख जारी गरेको छ । यो अवधिसम्म कम्पनीले  १ अर्ब ३० करोड ५० लाख २० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी  २३ दशमलव ६३ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस