
काठमाडौं । नेपाल इन्स्योरेन्सले यस अघि स्थगित ७१ औं वार्षिक साधारण सभा शुक्रवार हुदैछ । यस अघि चैत २१ गते कोरोना संक्रमणका कारण स्थगित सभा कम्पनीले शुक्रवार गर्न लागेको हो । कम्पनीको पुरानो भवन, कमलादी , काठमाडौंमा विहान ११ बजे सभा शुरु हुनेछ ।
प्रस्तावित ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ८९ प्रतिशत नगद लाभांश सभाले पारित गर्ने कार्यक्रम छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँको आधारमा लाभांश दिने प्रस्ताव अघि सारेको हो । बोनस शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ । यसर्थ सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।
कम्पनीले सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने योजना अघि सारेकोले उक्त उदेश्य कम्पनीको प्रबन्धपत्रमा थप गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ४ गतेदेखि बुक क्लोज गरेकाले त्यस दिनभन्दा अघिल्लो शेयर कारोबारमा कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांशका लागि योग्य भएका छन् ।
कोरोना संक्रमणका विच सभा गर्न लागेकाले सभामा उपस्थित हुँदा कम्तीमा १ मिटरको सामाजिक दुरी कायम हुने गरि माक्स, पञ्जा लगाएतका न्यूनतम सुरक्षाको उपकरणहरु प्रयोग गर्न कम्पनीले अनुरोध गरेको । शेयरधनीहरुले भिडियो कन्फ्रेन्स मार्फत मन्तव्य राख्न चाहेमा दुई दिन अघि कम्पनी सचिवलाई नाम टिपाउन समेत कम्पनीले भनेको छ । भिडियो कन्फ्रेन्स मार्फत सहभागी हुन चाहनेका लागि कम्पनीले मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने व्यवस्था समेत कम्पनीले गरेको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ४० लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम ३४ करोड ५८ लाख ४५ हजार रुपैयाँ कायम भएको छ । यो तेस्रो त्रैमाससम्म ८५ करोड ८९ लाख ८० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले १७ करोड ७४ लाख ६७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीको बीमा कोष रकम ३६ करोड ४७ लाख १० हजार रुपैयाँ कायम भएको छ । कम्पनीले तेस्रो त्रैमाससम्म ६ हजार ६०३ वटा बीमालेख नबिकरण गरेको छ भने १ लाख १६ हजार ९४४ वटा बीमालेख जारी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव ३२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १६४ दशमलव ८६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस