aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
किसानलाई प्रवद्र्धन

किसानलाई संरक्षण गर्दै सरकार, प्रतिक्विन्टल धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ असार २०७७
किसानलाई संरक्षण गर्दै सरकार, प्रतिक्विन्टल धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ

काठमाडौं । सरकारले किसानलाई प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यका साथ पहिलो पटक धान बाली लगाउनु अगावै न्यूनतम समर्थन मूल्य तोकेको छ । सरकारले मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ तोकेको हो । आर्थिक वर्ष २०७६/७७ को तुलनामा यस वर्ष तोकिएको धानको मूल्य प्रतिक्विन्टल २ सय रुपैयाँले बढी हो । यसअघि मोटा धानको समर्थन मूल्य २ हजार ५ सय ३१ रुपैयाँ ८० पैसा र मध्यमको २ हजार ६ सय ७३ रुपैयाँ थियो ।

कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा सरकारले धानबाली लगाउनुअगावै मोटा र मध्यम धानको न्यूनतम समर्थन मूल्य तोकेको यो पहिलो पटक हो । २०७७/७८ को सरकारको नीति तथा कार्यक्रममा कृषकको लागतका आधारमा कृषि  उपजको उचित मूल्य प्राप्त गर्ने गरी न्यूनतम समर्थन मूल्य तोक्नुका साथै कृषि उपजको बजारीकरणको समेत प्रबन्ध मिलाउने उल्लेख गरिएको छ । सोही नीतिअनुसार बाली लगाउनुअघि नै सरकारले धानको मूल्य तोकेको हो । 

यसरी धानबाली लगाउनुअगावै धानको न्यूनतम समर्थन मूल्य पहिलो पटक तोकिएको कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी बताए । किसानले उत्पादन गरेको धान अब सरकारले किन्ने छ । यदि किसानहरूले व्यवसायीलाई धान बिक्री गर्न सकेनन् भने सरकारी कम्पनी ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनी’ ले खरिद गर्छ ।’ सरकारी कम्पनीले यति बेला धमाधम किसानबाट धान तथा गहुँ खरिद गरिरहेको छ । अब वर्षे बालीको धान काट्ने बेलासम्म निर्णय कार्यान्वयन भइसक्ने छ । यसरी मूल्य तोक्दा आफ्नो उत्पादनबाट आउने मूल्यबाट कृषकहरूले थप योजना बनाउन सक्ने उनले बताए ।

कृषि तथा पशुपन्छी मन्त्रालयको सिफारिसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा धानको समर्थन मूल्य तोक्न प्रस्ताव मन्त्री परिषद्मा लगेको थियो ।  सरकारले समयमै धानको मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा खरिद गर्दै आएका थिए । सरकारले मूल्य तोकेपछि किसानलाई आफ्नो उत्पादन बिक्री गर्न थप सहज भएको कृषि मन्त्रालयले औल्याएको छ । 

धानको मूल्य तोकेपछि आपूर्ति मन्त्रालयअन्तर्गत रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेको धान चामल बनाएर कर्णाली तथा दुर्गम जिल्लामा सरकारले ढुवानी गर्दै आएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले किसानबाट धान खरिद गरेर दुर्गम जिल्लाका बासिन्दालाई सेवा प्रदान गर्दै आएको र अबका दिनमा पनि अझ यस्तो सेवा चुस्त बनाएर प्रदान गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस