
काठमाडौं । कोभिड–१९ का कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा साउनको २५ र २६ गते बस्ने निर्णय भएको छ । आइतबार बसेको महासंघ पदाधिकारी बैठकले साउन अन्तिम साता साधारणसभा गर्ने निर्णय गरेको हो । निर्धारित गरिएको समयभन्दा ४ महिनापछि महासंघले नयाँ नेतृत्व पाउने भएको छ ।
चार महिना ढिला गरी हुने महासंघ कार्यसमिति नयाँ नेतृत्वको कार्यकाल ४ महिना कम हुने भएको छ । महासंघका अनुसार साउन २५ र २६ गते साधारणसभाको मिति तय भएको हो । कोरोना संक्रमणसँगै चैत २८ र २९ गते गर्ने तयारी गरिएको महासंघको साधारणसभा स्थगित भएको थियो ।
महासंघ चुनावमा अध्यक्ष पदको चुनाव नहुने व्यवस्था गरेपनि वरिष्ठ उपाध्यक्षसहित अन्य उपाध्यक्ष र अन्य कार्यकारीणीको पदको लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षमा हाल महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी दिने भएका छन् ।
यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ । बैठकले साधारणसभाको लागि ‘भेन्यु’ समेत तोकिसकेको छ । ललितपुरमा रहेको हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ । कोरोना भाइरसको त्रास बढ्दै जाँदा महासंघको ५४ औं साधारणसभा रोकिएको थियो । अब साउनमा महासंघको साधारणसभासँगै निर्वाचन हुने मिति तोकिएपछि चुनावी सरगर्मी बढेको थियो ।
महासंघ निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था हो । ठूलो संस्था भएको कारण पनि महासंघको आगामी नेतृत्वका लागि तीव्र राजनीतिक लबिङ सुरु भएको छ । महासंघको आगामी साधारणसभापछि अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही अनुरुप अध्यक्षका लागि प्रतिस्पर्धा हुँदैन । तर, वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, एसोसियट्स उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यमा निर्वाचन हुनेछ ।
ढकाल र प्रधानको प्यानल भिड्दै
वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल र किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । आगामी साधारणसभाले वरिष्ठ उपाध्यक्ष जसलाई चयन गर्यो उही गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । यद्यपि पछिल्लो समय यो चुनावपछि महासंघको विधान संशोधन गर्ने कुरा पनि बाहिर आएका छन् । आगामी साधारणसभाले वरिष्ठ उपाध्यक्ष, वस्तुगत उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, एसोसियट्स उपाध्यक्ष तथा कार्यसमिति सदस्यलगायतका पदाधिकारी चयन गर्नेछ ।
आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका लागि ढकालको एउटा प्यानल र प्रधानसहितको अर्को प्यानल प्रसारप्रसारमा लागेका छन् । ढकाल समूहमा जिल्ला नगर समूहको उपाध्यक्षमा गुणनिधि तिवारी, वस्तुगत समूहको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट्स उपाध्यक्षमा संघाईले उम्मेदवारी दिने भएका छन् ।
प्रधान समूहमा जिल्ला नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अञ्जन श्रेष्ठ र एसोसियट्समा सौरभ ज्योतिले उम्मेदवारी दिने भएका छन् । एसोसियट्स आफ्नो पक्षमा पार्न दुबैतर्फबाट ‘प्रोक्सी’ संकलन गरिरहेका छन् । दुवैतर्फले प्रोक्सी आफ्नो पक्षमा धेरै भएको भन्दै एसोसियट्सको पल्लाभारी भएको दाबी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस