aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
५४ औं साधारणसभा

एफएनसीसीआईको चुनावको मिति बल्ल तय भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ असार २०७७
एफएनसीसीआईको चुनावको मिति बल्ल तय भयो


काठमाडौं । नेपाली उद्यमी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा र नयाँ कार्यसमिति चयनको मिति तय भएको छ ।

आज सोमबार महासंघ कार्य समिति बैठकले आगामी साउन २६ र २७ गते ५४ औं साधारणसभा तथा चुनावको मिति तय गरेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । आइतबार बसेको महासंघ पदाधिकारी बैठकले साउन अन्तिम साता साधारणसभा गर्ने निर्णय गरेको हो । निर्धारित गरिएको समयभन्दा ४ महिनापछि महासंघले नयाँ नेतृत्व पाउने भएको छ । 

चार महिना ढिला गरी हुने महासंघ कार्यसमिति नयाँ नेतृत्वको कार्यकाल ४ महिना कम हुने भएको छ । महासंघका कार्यसमिति बैठकले साउन २५ र २६ गते साधारणसभाको मिति तय गरेको हो । कोरोना संक्रमणसँगै चैत २८ र २९ गते गर्ने तयारी गरिएको महासंघको साधारणसभा स्थगन भएको थियो । 

महासंघ चुनावमा अध्यक्ष पदको चुनाव नहुने व्यवस्था गरेपनि वरिष्ठ उपाध्यक्षसहित अन्य उपाध्यक्ष र अन्य कार्यकारीणीको पदको लागि भने निर्वाचन हुनेछ । वरिष्ठ उपाध्यक्षमा हाल महासंघका एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र  जिल्ला नगर उपाध्यक्ष किशोर प्रधानले उम्मेदवारी दिने भएका छन् । 

यो निर्णयलाई सोमबार बस्ने कार्यसमिति बैठकले अनुमोदन गर्नेछ । बैठकले साधारणसभाको लागि ‘भेन्यु’ समेत तोकिसकेको छ । ललितपुरमा रहेको हेरिटेज गार्डेनमा साधारणसभा हुनेछ । कोरोना भाइरसको त्रास बढ्दै जाँदा महासंघको ५४ औं साधारणसभा रोकिएको थियो । अब साउनमा महासंघको साधारणसभासँगै निर्वाचन हुने मिति तोकिएपछि चुनावी सरगर्मी बढेको थियो । 


महासंघ निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था हो । ठूलो संस्था भएको कारण पनि महासंघको आगामी नेतृत्वका लागि तीव्र राजनीतिक लबिङ सुरु भएको छ । महासंघको आगामी साधारणसभापछि अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सोही अनुरुप अध्यक्षका लागि प्रतिस्पर्धा हुँदैन । तर, वरिष्ठ उपाध्यक्ष, जिल्ला नगर उपाध्यक्ष, एसोसियट्स उपाध्यक्ष र वस्तुगत उपाध्यक्षसहित कार्यसमिति सदस्यमा निर्वाचन हुनेछ ।

प्रतिक्रिया दिनुहोस