aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

वैदेशिक लगानी प्रतिवद्धता दोब्बर, लकडाउनमै आयो एक अर्ब लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० असार २०७७
वैदेशिक लगानी प्रतिवद्धता दोब्बर, लकडाउनमै आयो एक अर्ब लगानी

काठमाडौं । विश्व नै कोभिड–१९ ले आक्रान्त भएपनि लकडाउनकै (चैत्र–जेठ) समयमा करिब एक अर्ब रुपैयाँको विदेशी लगानी प्रतिवद्धता भएको छ । लकडाउनको यो अवधिमा उद्योग क्षेत्रमा ९५ करोड २० लाख रुपैयाँको लगानी प्रतिवद्धता भएको हो । 
कोभिड १९ को विषम परिस्थितिमा पनि भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँच वटा मुलुकबाट १२ वटा उद्योग स्थापना गन लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । 

त्यसैगरी चालु आर्थिक वर्षको ११ महिनामा वैदेशिक लगानी प्रतिवद्धता बढेर दोब्बर भएको छ ।  गत आवको ११ महिनामा २१ अर्ब २४ करोड विदेशी लगानी भित्रिएकोमा यस आवको यो अवधिमा लगानी प्रतिवद्धता बढेर ४३ अर्ब ७१ करोड रुपैयाँ पुगेको हो ।

लगानीको वातावरण बन्दै गएपछि विदेशी लगानीको प्रतिवद्धता पनि बढ्दै गएको उद्योग विभागले जानकारी दिएको छ । उद्योग विभागकाअनुसार एक सय ८५ उद्योगमा ४३ अर्बभन्दा बढी विदेशी लगानी प्रतिवद्धता भएको छ । गत वर्ष सोही अवधिमा दुई सय ९१ उद्योगमा २१ अर्ब २४ करोड विदेशी लगानी भित्रिएको थियो । 

विभागकाअनुसार सबभन्दा धेरै ऊर्जा क्षेत्रमा लगानी प्रतिवद्धता भएको छ । पाँचवटा ऊर्जा उद्योगमा ११ अर्ब ८२ करोड विदेशी लगानी प्रतिवद्धता भएको विभागको तथ्यांक छ । दोस्रो बढी लगानी प्रतिवद्धता सूचना प्रविधिका क्षेत्रमा भएको छ ।  २ वटा सूचना प्रविधि उद्योगका क्षेत्रमा १० अर्ब ५५ करोड लगानी प्रतिवद्धता आएको हो । 

पर्यटनका ६९ उद्योगमा नौ अर्ब लगानी प्रतिवद्धता भएको छ । सेवामूलकका ५३ उद्योगमा आठ अर्ब ७२ करोड लगानी प्रतिवद्धता भएको छ । विभागकाअनुसार २२ वटा उत्पादनमूलक उद्योगमा तीन अर्ब लगानी प्रतिवद्धता आएको छ । कृषि तथा वनजन्य क्षेत्रका लागि पनि ५३ करोड लगानी प्रतिवद्धता भएको छ ।

यस आवमा लगानी प्रतिवद्धता धेरै भएपनि कममात्र जनशक्तिले रोजगारी पाउने देखिएको छ । यस वर्ष सूचना प्रविधिको क्षेत्रमा धेरै लगानी आएको पनि कममात्र रोजगारीको अवसर सिर्जना हुने देखिएको हो । जेठसम्म भएको विदेशी लगानी प्रतिवद्धतामा ९ हजार चार सय नौ जनालाई रोजगारी दिने उल्लेख गरिएको छ । तर वर्षको सोही अवधिमा ११ हजार पाँच सय १४ जनालाई रोजगारी दिने प्रतिवद्धता गरिएको थियो ।

कोभिडको असामान्य परिस्थितिमा पनि लगानी प्रतिवद्धता आउनु सकारात्मक भएको विभागको भनाइ छ । अन्तर्राष्ट्रिय उडान बन्द हुँदा विदेशी प्रत्यक्ष आउन नसके नेपालमा रहेका उनीहरुका प्रतिनिधिहरुले लगानी स्वीकृति गराएका हुन् ।  
 

प्रतिक्रिया दिनुहोस