
काठमाडौं । तिनाउँ मिसन डेभलपमेण्ट बैंकको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले कम्पनीको प्रस्तावित १२ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको बोनस पछिको शेयरमूल्य प्रतिकित्ता १६१ रुपैयाँ तोकेको छ । कम्पनीको पछिल्लो अन्तिम शेयरमूल्य १८० रुपैयाँ लाई आधार बनाएर नेप्सेले मूल्य समायोजन गरेको बताएको छ ।
कम्पनीले प्रस्तावित १२ प्रतिशत बोनस शेयरको प्रस्ताव सहित असार २५ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र लाभांश प्रयोजनका लागि असार ११ गते एक दिन बुक क्लोज गरेको छ । कम्पनीले सिद्धार्थ कटेज बुटवल, रुपन्देहीमा विहान ११ः३० बजे सभा गर्न लागेको हो । सभाले बोनस सँगै गत आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन , नाफानोक्सान हिसाव र वासलतका साथै नगद प्रवाह विवरण पारित गर्नेछ ।
उक्त सभाले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा ३ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यक्रम रहेको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १४ करोड ४१ लाख ६८ हजार रुपैयाँ छ । सोहि पूँजीको अधारमा १२ प्रतिशत बोनस शेयर दिन लागेको कम्पनीले बोनस पश्चात कायम १ अर्ब २८ करोड १४ लाख ६८ हजार रुपैयाँ चुक्तापूँजीको आधारमा ३ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्नेछ ।
त्यस्तै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ ।
प्रतिक्रिया दिनुहोस