aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद शेयर आइतबारदेखि विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ असार २०७७
गुराँस लाइफ इन्स्योरेन्सको शतप्रतिशत हकप्रद शेयर आइतबारदेखि विक्रीमा

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले शतप्रतिशत हकप्रद शेयर असार १४ गते (आइतबार) देखि विक्रीमा ल्याएको छ । कम्पनीले रू. १०० अंकति दरका ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर विक्रीमा ल्याएको हो । यस हकप्रदमा फागुन २२ गतेभन्दा अघिल्लो दिनसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

यस अघि चैत २० गतेदेखि हकप्रद शेयर विक्री गर्ने तयारी गरेको कम्पनीले कोरोना संक्रमणका कारण स्थगित गरेको थियो । पछिल्लो समय लकडाउनको अवस्था सामान्य भएसँगै कम्पनीले उक्त हकप्रद निष्कासन गरेको हो । साउन ४ गतेसम्म विक्रीमा रहने यस हकप्रद शेयरमा मेरो शेयर मार्फत र सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । यस हकप्रद शेयरको विक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

गुराँस लाइफले हाल कायम चुक्तापूँजी  ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्तापूँजीको आधारमा शतपतिशत हकप्रद विक्री गर्न लागेको हो । उक्त हकप्रद विक्री गर्न कम्पनीले माघ २१ गते बोर्डको स्वीकृति पाएको थियो । यस कम्पनीले चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ८ करोड ३७ लाख ६० हजार रुपैयाँ खुद नाफा गरेको छ ।

गत वर्ष यसै अवधिमा कम्पनीले ५ करोड ६५ लाख ८९ हजार रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको खुद नाफा बढी भएको हो । वार्षिक प्रतिशेयर आम्दानी ११ दशमलव ९० रुपैयाँ र प्रतिशेयर नेटवर्थ  १४३ दशमलव ७५ रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस