
काठमाडौं । नेपाल इन्स्योरेन्सले असार ५ गते ७१ औं वार्षिक साधारण सभाबाट पारित गरेको २ दशमलव ८९ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीले चैत ३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्नेहरुको हकमा समेत नगद लाभांश बैंक खातामानै जम्मा गरेको जानकारी दिएको छ ।
चैत ३ गतेसम्ममा आफ्नो बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नभई नगद लाभांश प्राप्त गर्न नसकेका शेयरधनीहरुको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेव साइटमा राखिएको कम्पनीको भनाई छ ।
शेयरधनीहरुले उपलब्ध गराएको बैंक खाताको विवरण गलत भई अरूको नाममा लाभांश रकम जम्मा भएमा त्यसको जिम्वेवार शेयरधनी स्वयं हुने समेत कम्पनीले बताएको छ । साथै, हालसम्म आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण नगराएका शेयरधनीहरुले यथासिघ्र गराई बैंक खाता पनि अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ ।
यस वर्ष नेपाल इन्स्योरेन्सले ५ प्रतिशत बोनस शेयर समेत दिने प्रस्ताव सोहि सभामार्फत पारित गरिसकेको छ । बोनस शेयर भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत पश्चात शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुनेछ । नगद लाभांश ऋणात्मक हुने शेयरधनीहरुले बोनस शेयर कर वापतको रकम जम्मा गरेपश्चात मात्र बोनस शेयर प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस