aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
धान दिवस

मल छैन, ३ लाख हेक्टरमा रोपाइँ सकियो, प्रदेश ५ मा ३६.२६ प्रतिशत रोपाइँ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ असार २०७७
मल छैन, ३ लाख हेक्टरमा रोपाइँ सकियो,  प्रदेश ५ मा ३६.२६ प्रतिशत रोपाइँ

काठमाडौं । सरकारले आज असार १५ असार ‘यो वर्ष धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका धान दिवस मनाउने भएको छ । खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यालयमा राष्ट्रिय धान दिवस मनाउन लागिएको हो । 

राष्ट्रिय अर्थतन्त्रमा करिब ८ प्रतिशत योगदान रहेको धान नेपालको प्रमुख बाली हो । यसको उत्पादनमा भएको अन्तरले नेपालको अर्थतन्त्रमा नै ठूलो असर पार्छ । सरकारले यसको उत्पादन बढाउन कृषि क्षेत्रमा सबैभन्दा बढी योगदान गर्ने धानको उत्पादन वृद्धि गर्न सरकारले उन्नत जातको बिउ वितरण गर्ने, सिँचाइ सुविधा विस्तार गर्ने, रासायनिक तथा प्रांगारिक मलको सहज आपूर्ति गर्नेलगायतका काम गरिरहेको छ । आगामी आवमा सरकारले ५५ लाख मेट्रिक टन धान उत्पादन गर्ने लक्ष्य निर्धारण गरेको छ । 

यसपालि वर्षा चाँडै सुरु भएकाले किसानले २० प्रतिशतभन्दा बढी क्षेत्रमा धान रोपिसकेका छन् । जेठ तेस्रो सातादेखि सुरु भएको धान रोपाइँ हालसम्म करिब ३ लाख हेक्टरमा भइसकेको छ । बर्खामा सिजनमा करिब १३ लाख ७१ हजार हेक्टरमा रोपाइँ हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ । 

के छ समस्या ?

यद्यपि धमाधम रोपाइँ भएपनि रासायनिक मल अभाव हुँदा उत्पादनमा असर गर्ने चिन्ता किसानमा छ । हरेक वर्ष झैं यस वर्ष पनि मल अभाव छ । ‘असार अन्तिम र साउन पहिलो सातासम्म मल नआए पश्चिमतिर केही समस्या हुन सक्छ,’ मन्त्रालयका प्रवक्ता केसीले भने ‘समयमा मल राख्न सकिएन भने रोपाइँ गरेर मात्र हुँदैन । सरकारले  यस वर्ष रासायनिक मलमा ११ अर्ब रुपैयाँ अनुदान छुट्याएको छ । 

कोभिडका कारण भएको लकडाउनका कारण मल आउन सकेको छैन । सरकारी स्वामित्व रहेका कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले समयमा युरिया मल आपूर्ति गर्न नसक्दा किसानले यस वर्ष पनि समयमै वर्षे धानबालीमा समयमै मल राख्न नपाउने भएका हुन् । 
अघिल्लो वर्षको तुलनामा धान रोपाइँ छिटो शुरु भएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए ।

‘यस वर्ष किसानले रोपाइँ गर्न सहज भएको छ, समयमै बीउ राखे, सोही अनुरुप मनसुन पनि सक्रिय भएको छ,’ उनले भने । ‘मनसुन यही हिसाबले भयो भने यस वर्ष जग्गा बाझो रह्दैन, सबै गर्न मिल्ने सबै जमिमा रोपाइँ हुन्छ ।’ यस वर्ष बाँझो जग्गा नराख्ने अभियानले पनि रोपाइँ बढाउने मन्त्रालयको दाबी छ । उच्च पहाड, मध्यपहाड हुँदै तराईसम्म धान रोपाइँ हुन्छ । तराईमा त साउन अन्तिमसम्म रोपाइँ गरिन्छ ।

कहाँ कति भयो रोपाइँ ?

असार १० सम्म रोपाइँ २६.०७ प्रतिशत भएको मन्त्रालयको तथ्यांक छ । अघिल्लो वर्ष सोही अवधिमा २४.९४ प्रतिशत थियो । मध्यपहाडमा रोपाइँ २०.०७ प्रतिशत भएको छ । २०७६ असार १० सम्म १६.९१ प्रतिशत मात्रै रोपाइँ भएको थियो । तराईमा भने १९.७५ प्रतिशत रोपाइँ भएको छ । अघिल्लो वर्ष सोही अवधिमा ९.११ प्रतिशत मात्रै रोपाइँ भएको थियो । अहिलेसम्म औसत रोपाइँ ११.६४ बाट बढेर २०.०५ प्रतिशत पुगेको छ । 

मन्त्रालयका अनुसार सबैभन्दा बढी प्रदेश ५ मा रोपाइँ भएको छ । त्यहाँ अहिलेसम्म ३६.२६ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष यति बेला १३.९६ प्रतिशत रोपाइँ भएको थियो । सुदूरपश्चिम प्रदेशमा भने २१.४६ प्रतिशत रोपाइँ भएको मन्त्रालयको विवरणमा उल्लेख छ । अघिल्लो वर्ष यही अवधिमा २० प्रतिशत रोपाइँ भएको थियो ।

कर्णाली र गण्डकी प्रदेशमा भने रोपाइँ प्रतिशत घटेको छ । ०७६ असार १० सम्म कर्णालीमा २६.१३ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । अहिले घटेर २०.११ प्रतिशत मात्रै भएको छ । गण्डकी प्रदेशमा पनि गत वर्ष १७.९९ प्रतिशत रोपाइँ भएको थियो । अहिले घटेर १३.७२ प्रतिशतमा झरेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

वाग्मती प्रदेशमा १८.६८ प्रतिशत रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ६.७१ प्रतिशत भएको थियो । प्रदेश २ मा रोपाइँ १५.५३ प्रतिशत भएको मन्त्रालयले जनाएको छ । गतवर्ष यति बेला ५.२० प्रतिशत मात्रै रोपाइँ भएको थयो । प्रदेश १ मा १० प्रतिशत रोपाइँ भएको छ । गतवर्ष सोही अवधिमा ९.९७ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस