aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ विक्री गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १७ असार २०७७
अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ विक्री गर्ने

काठमाडौं । अजोड इन्स्योरेन्सले असार २५ गतेदेखि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले बुधबार आव्हान पत्र जारी गर्दै  ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री गर्ने जानकारी दिएको हो । सर्वसाधारणका लागि छुट्याईएको कुल ३० कित्ता आईपीओमध्य कम्पनीले १ लाख २० हजार कर्मचारीका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको २७ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो । छिटोमा असार २९ र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने यस आईपीओ खरिद गर्न चाहनेले न्यूनतम १० कित्तादेखि अधितम १० हजार कित्तासम्म आवेदन गर्न सक्नेछन् ।

अजोडको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै कम्पनीको केन्द्रिय कार्यालय सुन्धारा र धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

साथै , मेरो शेयर मार्फत घरमै बसेर पनि आवेदन दिन सकिनेछ । यो आईपीओ विक्रीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो । नयाँ निर्जीवन बीमा कम्पनीहरुमध्य सबैभन्दा पहिला आईपीओ विक्रीको लागि यस कम्पनीले स्वीकृति पाएको हो ।

यस कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म  ३ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत वर्षको यसै अवधिसमम रू. २ करोड ६० लाख थियो । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफा ३५ प्रतिशत बढी भएको हो । यस वर्ष कम्पनीले  ६० करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

बीमाशुल्क आर्जन बढ्दै गएकाले आगामी दिनहरुमा व्यवासायिक विविधिकरण गरी गुणस्तरिय ग्राहकमुखी नयाँ सुविधा शुरू गरी अझ वित्तीय रूपमा सबल बनाउने योजना कम्पनीको रहेको छ । हाल  ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको यस कम्पनीको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम हुनेछ । 

२०७५ असार २१ गतेदेखि यस कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरेको हो । यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ५ दशमलव शून्य २ र प्रतिशेयर नेटवर्र्थ र ११२ दशमलव ४६ रुपैयाँ छ । कम्पनीको जगेडा कोषमा ३ करोड ३३ लाख रुपैयाँ रहेको छ भने बीमाकोष रकम ४ करोड ८१ लाख रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस