
काठमाडौं । नेको इन्स्योरेन्सले ८ दशमलव १६ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामानै जम्मा गरिदिएको छ । कम्पनीले जेठ २३ गते २४ औं वार्षिक साधारण सभाबाट पारित गरेको नगद लाभांश चैत २४ गतेसम्म बैंक खाता अद्यावधिक गराएकाहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।
उक्त मितिपश्चात बैंक खाता अद्यावधिक गराउनेहरुको पनि बैंक खातामै नगद लाभांश जम्मा गरिने कम्पनीको भनाई छ । हालसम्म पनि बैंक खाता अद्यावधिक नगराएका सदस्यहरुलाई समयमै अद्यावधिक गराई आफ्नो लाभांश सुरक्षित गर्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
हाल नेको इन्स्योरेन्सको चुक्तापूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर दिएको थियो । बीमा समितिको निर्देशन बमोजिम तोके बमोजिमको १ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्न यस अघि हकप्रद र बोनस शेयरको सहारा लिएको नेको इन्स्योरेन्सले यस वर्ष भने नगद लाभांशलाई जोड दिएको हो ।
प्रतिक्रिया दिनुहोस