aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँको क्षति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १९ असार २०७७
पर्यटन क्षेत्रमा ४१ अर्ब रुपैयाँको क्षति

                                                                                  
काठमाडौं । कोभिड–१९ को जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण पर्यटन क्षेत्रमा करिब ४१ अर्ब रुपैयाँको क्षति पुगेको छ । नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट गठित अध्ययन कमितिले लकडाउनको यो अवधिसम्म जम्मा ३४ अर्ब रुपैयाँ क्षति पुगेको प्रतिवेदन पेश गरेको हो । साउन ७ गतेसम्म सरकारले गरेको लकडाउनसम्म ७ अर्ब  थपिने भएको छ ।

हालसम्म भएको र अब हुने क्षतिसम्म गरी ४१ अर्बको कारोबार क्षति हुने अनुमान गरिएको संस्कृत, पर्यटन, नागरिक तथा उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।         

सरकारको बजेट तथा कार्यक्रममार्फत् पर्यटन क्षेत्रमा पुनरकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था भएको छ । साथै होटलका लागि मूल्य अभिवृद्धि कर ‘भ्याट’ दाखिला गर्ने समयावधि २ महिनाबाट बढाएर ४ महिना पुर्याइएको छ ।                                                                                                                                                                         
हाल हवाई जहाज पार्किङ शुल्कमा ७५ प्रतिशत, इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारसमक्ष सिफारिस समेत गरिएको छ ।

कोभिड–१९ को जोखिम न्यूनीकरण गरी सुरक्षित हवाई सेवा सञ्चालन सम्बन्धि प्रोटोकल स्वीकृत भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका प्रमुख विमानस्थलहरुमा निश्चित दूरी कायम गरी सञ्चालनको तयारीका लागि मार्किङसहितका सुरक्षात्मक उपायहरु प्रवन्ध समेत गरिएको छ ।                                                                                                                    

‘कोभिड–१९ को महामारीको चुनौती स्वास्थ्य सुरक्षा भएकाले पर्यटनसँग सम्बन्धित सबै क्षेत्रका लागि स्वास्थ्य सुरक्षाको प्रोटोकल सार्वजनिक गरिसकेका छौं,’ मन्त्रीले भने ‘सबैलाई पालना गर्न पनि निर्देशन गरेका छौं ।’ 

प्रतिक्रिया दिनुहोस