
काठमाडौं । आइतवार बाँडफाँट हुने भनिएको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको आइपीओ शनिबारनै बाँडफाँट हुने भएको छ ।
बिहीवार प्रि–अलोटमेण्ट गरि आइतवार बाँडफाँट गर्ने तयारी गरिएको भएपनि सोहि दिनदेखि साधना लघुवित्त वित्तीय संस्थाको आईपीओ विक्री खुला हुने हुदाँ सिष्टममा समस्या हुन सक्ने भन्दै शनिवारनै बाँडफाँट गर्न लागिएको हो ।
विक्री प्रबन्धक सानिमा क्यापिटलले शनिवार विहान ९ः३० बजे आईपीओ बाँडफाँट हुने जानकारी दिएको छ । कोरोना संक्रमण बढी रहेको अवस्थामा सञ्चारकर्मी तथा लगानीकर्तालाई बाँडफाँट कार्यक्रममा उपस्थित नहुन क्यापिटलले आग्रह गरेको छ ।
संक्रमणका विच थोरै जनाको सहभागितामा आईपीओ बाँडफाँट गर्न लागिएको हो । सञ्चारकर्मि र लगानीकर्ताको जानकारीका लागि भने सानिमा क्यापिटलको फेसबुक पेजबाट बाँडफाँटको प्रत्यक्ष प्रसारण गर्ने तयारी क्यापिटलले गरेको छ ।
कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
एनआईसी एशिया लघुवित्तको आईपीओमा ४ लाख १४ हजार १८० जनाको आवेदन परेको थियो । यी मध्यमा योग्य आवेदक भने ३ लाख ९७ हजार ७४१ जना रहेको विक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।
आवेदकको संख्याको आधारमा हालको व्यवस्थाबाट सबैले पहिलो चरणमा १० कित्ता शेयर प्राप्त गर्नेछन् । त्यस पछि बाँकी रहेको शेयर गोलाप्रदाद्वारा वितरण गर्दा ४६ हजार ५७९ जना आवेदकले थप १० कित्ता शेयर हात पार्नेछन् ।
लघुवित्त क्षेत्रको हालसम्मकै सबैभन्दा ठूलो आइपीओ यस कम्पनीले निष्कासन गरेको हो । यो आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधारको संकेत गर्ने ग्रेड ४ प्लस रेटिङ दिएको छ । हाल रू. १ अर्ब ४५ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात रू. १ अर्ब ४८ करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस