
काठमाडौं । शुक्रबार प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्राइम लाइफको १२ दशमलव ५० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन गरेको हो । नेप्सेले प्राइमको बोनस पछिको मूल्य प्रतिकित्ता ४७१ रुपैयाँ तोकेको छ । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य ५३० रुपैयाँ कायम भएको थियो ।
सोहि मूल्यको आधारमा कम्पनीले समायोजन मूल्य तोकेको हो । प्राइमले प्रस्तावित बोनस सहित विविध प्रस्तावमाथी छलफल गर्न असार २९ गते १२ औं बार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा र प्रस्तावित लाभांश प्रयोजनका लागि कम्पनीले शुक्रबार बुक क्लोज गरेको हो । बुक क्लोजको आधारमा नेप्सेले कम्पनीको शेयरमूल्य समायोजना गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट १२ दशमलव ५ प्रतिशत बोनस शेयर जारी गर्ने र उक्त बोनस शेयरको कर प्रयोजनका लागि शून्य दशमलव ६१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत आगामी सभाले पारित गर्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजी २ अर्ब ७९ लाख ३९ हजार रुपैयाँको आधारमा लाभांश दिन लागेको हो ।
यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १८ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । प्राइमको प्रतिशेयर आम्दानी १२ दशमलव १६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १५९ दशमलव शून्य ६ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस