
काठमाडौं । असार २१ गतेदेखि विक्रीमा आएको साधना लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज (बुधवार) अन्तिम दिन रहेको छ ।
मागभन्दा करिब १४ गुणा आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गर्न लागिएको हो । यस कम्पनीको आईपीओमा विक्री खुला भएको तीन दिनमा १३ख दशमलव ७३ गुणा बढी आवेदन परिसकेको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको छ ।
क्यापिटलका अनुसार मंगलवार साझ ५ बजेसम्म ३ लाख ६८ हजार ९९६ जनाले रू. ९० करोड ८७ लाख ५४ हजार बराबरको ९० लाख ८७ हजार ५४० कित्ता माग गर्दै आवेदन दिएका छन् ।
कम्पनीले कुल ७ लाख ७ हजार ८०० कित्ता आईपीओ विक्री खुला गरेको हो । जसमध्य १० हजार ८९० कित्ता कर्मचारीको लागि र ३५ हजार ३९० कित्ता सामुहिक लगानीको कोषको लागि छुट्याएर बाँकी ६ लाख ६१ हजार ५२० कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री खुला गरेको हो ।
छिटोमा असार २४ र ढिलोमा साउन ४ गतेसम्म विक्रीमा रहने बताईएको यो आईपीओमा माग भन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र बन्द गर्न लागिएको हो । यो आईपीओ खरिद गर्न चाहनेले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
साधना लघुवित्तको आईपीओलाई इक्रा नेपालले आधारभूत पक्ष औषतभन्दा तलको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
पूर्ण प्रविधिमैत्री रहेको प्राथमिक बजारमा निष्कासन हुने शेयर खरिदका लागि मेरो शेयर मार्फत अनलाईन बाटै आवेदन दिन सकिनेछ । साथै , नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएका सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखा कार्यलयहरुबाट आवेदन दिन सकिनेछ ।
हाल रू.१४ करोड ७७ लाख चुक्तापूँजी रहेको कम्पनीको आईपीओ पश्चात यो पूँजी रू. २१ करोड ७७ लाख पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस