aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अजोड इन्स्योरेन्सको आईपीओ भोलिदेखि बिक्रीमा, न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म किन्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २४ असार २०७७
अजोड इन्स्योरेन्सको आईपीओ भोलिदेखि बिक्रीमा, न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म किन्न पाइने

 काठमाडौं । अजोड इन्स्योरेन्सले असार २५ गते बिहीबारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । कम्पनीले रू. ३० करोड बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गर्न लागेको हो ।

कुल कित्तामध्य ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी २७ लाख ३० हजार सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो । 

यो आईपीओ खरिद गर्न चाहनेले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा असार २९ गते र ढिलोमा साउन ८ गतेसम्म विक्रीमा रहने यस आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । 

विक्री प्रबन्धकसँगै अजोड इन्स्योरेन्सको केन्द्रिय कार्यालय सुन्धारा र आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने व्यवस्था छ । पूर्ण प्रविधिमैत्री बनेको प्राथमिक बजारमा आईपीओ खरिद गर्न मेरो शेयर प्रयोगकर्ताहरुले घरमै बसेर पनि आवेदन दिन सक्नेछन् । 

अजोडको आईपीओलाई केयर रेटिङ नेपालले आधारभूत पक्ष औषतभन्दा तल रहेको संकेत गर्ने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यस कम्पनीले आईपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट असार ७ गते स्वीकृति पाएको थियो ।

हाल  ७० करोड रुपैयाँ चुक्तापूँजी रहेको अजोड इन्स्योरेन्सको आईपीओ पश्चात १ अर्ब रुपैयाँ चुक्तापूँजी पुग्नेछ । नयाँ तीन निर्जीवन बीमा कम्पनीहरु मध्य सबैभन्दा पहिला अजोडले आईपीओ विक्री गर्न लागेको हो । अन्य दुई कम्पनीले पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिईसकेका छन् । 
 

प्रतिक्रिया दिनुहोस