
काठमाडौं । स्थानीय तह आफ्ना क्षेत्रका जनताप्रति जिम्मेवार हुनुपर्ने संवैधानिक व्यवस्था बल्ल गोकर्णेश्वर नगरपालिकाअन्तर्गत पशु सेवा कार्यालयले कार्यान्वयन गरेको छ ।
स्थानीय तहमा जननिर्वाचित प्रतिनिधिले काम शुरु गरेको तीन वर्ष पूरा भइसक्दा पनि पशु विकास कार्यालयको बोर्ड नफेरिएको समाचार असार २१ गते सार्वजनिक भएको थियो । समाचार सार्वजनिक भएपछि गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटीस्थित भूमिस्थलीमा रहेको पशु विकास कार्यालयको बोर्ड फेरेको हो ।
नगरपालिका मातहत रहेको पशु सेवा कार्यालयको बोर्ड फेर्ने अधिकारसमेत त्यो कार्यालयलाई नभएको पशु सेवाका अधिकारीको गुनासो थियो । गुनासोपछि नगरपालिकाले नै बोर्ड फेरिदिएको पशु सेवा सहायक शान्ता खनालले बताए । नगरपालिकाको एउटै पशुसेवा कार्यालयको बोर्ड तीन वर्षदेखि च्यातिएर बुझ्न नसकिने भएको थियो । जसका कारण सेवाग्राहीलाई कार्यालय खोज्न धौ धौ हुने गरेको गुनासोसमेत सेवाग्राहीको थियो तर फेर्ने अधिकार नगरपालिकाले आफैँमा सीमित राखेको कार्यालयका कर्मचारीको गुनासो थियो ।
विसं २०७२ असोज पहिलो साता जारी भएको संविधानअनुसार तीन तहका सरकारमध्ये स्थानीय सरकारअन्तर्गत यो कार्यालय पर्छ । २०७२ सालको अन्त्यदेखि नै यो कार्यालय नगरपालिकाअन्तर्गत आएको हो । निर्णय भएको चार वर्षसम्म पनि पुरानै राज्य संरचना अनुसारको बोर्ड कार्यालयमा भुण्डिएको विषयलाई समाचारमार्फत पटकपटक सार्वजनिक गरेपछि नगरपालिका फेर्न बाध्य भएको हो ।
जनशक्तिको अझै अभाव
बोर्ड फेरिए पनि कार्यालयमा जनशक्तिको समेत अभाव छ । नगर क्षेत्रमा अझै पनि धेरै किसानले पशुपालन गरिरहेका छन् । खाली स्थानमा व्यावसायिक रुपमा कुखुरा, गाई फार्म चलाउने क्रमसमेत बढेको छ तर कार्यालय एक जना पशु सहायकका भरमा सञ्चालित छ । अर्का एक कार्यालय सहयोगी भए पनि उनीसँग पशुको उपचार गर्ने ज्ञान, सीप नहुने सेवाग्राहीको भनाइ छ ।
जनशक्ति नहुँदा पशुपालकको मागअनुसार सबैतिर पुगेर सेवा दिन नसकिएको पशु सेवा सहायक खनालले बताए । कार्यालयका प्रमुख, उपप्रमुखलगायतका पशु संरक्षण अधिकृतको पद रिक्त भएको पनि तीन महिनाभन्दा बढी भइसक्यो तर पदपूर्ति हुन सकेको छैन ।
कार्यालयमा हाल पशु सहायक खनाल र कार्यालय सहयोगी क्रान्ति लामामात्र कार्यरत छन् । पशु चिकित्सकको पद रिक्त भएको महिनौँ बित्दासमेत पद पूर्ति नहुँदा सेवा पाउनबाट वञ्चित हुनुपरेको सेवाग्राहीको गुनासो छ । नगरपालिकाको १ नं वडाको मूलखर्क, ओखरेनी, चिलाउने लगायत दुर्गम स्थानबाट घण्टौँ हिँडेर सेवा लिन जाँदा पनि पाउन नसकिने अवस्था रहेको सेवाग्राही मङ्गले तामाङको गुनासो छ ।
पशुपालक किसानको समस्यामा नगरपालिकाको ध्यान नगएको तर्फ यहाँका हजारौँ नागरिकले दुःख प्रकट गरेका छन् । नगरपालिकाका सूचना अधिकारी भीमबहादुर शाही कार्यालयलाई सातौँ तहका कार्यालय प्रमुख हुँदा तला थप्न छुट्याएको बजेटबाट चालु आर्थिक वर्षमा केही काम गर्न नसकेको बताए। नेतृत्वले काम गर्न नसक्दा रु १० लाख बजेट यत्तिकै बसेको उनले बताए ।
कर्मचारी रिक्त भएको विषय लोक सेवा आयोगलाई लेखी पठाएकामा प्रदेश लोक सेवा आयोग गठन भइसकेकाले त्यहाँ लेखी पठाउन पत्राचार भई आएको जानकारी पनि सूचना अधिकारी शाहीले दिनुभयो । सातौँ र छैटौँ तहका पशु चिकित्सकले एकैपटक राजीनामा दिँदा कार्यालय सहयोगीका भरमा चलेको कार्यालयमा सुत्केरी बिदामा बसेकी खनाललाई बोलाएर सकेको सेवा दिन थालिएको नगरपालिकाले जनाएको छ । रिक्त पदपूर्ति गरी चुस्त सेवा दिन नगरपालिकाले ध्यान दिनुपर्ने सेवाग्राहीको माग छ ।रासस
प्रतिक्रिया दिनुहोस