aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्वदेश फर्किएपछि कतिलाई लाग्यो होला यस्तो गहिरो चोट ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०३ साउन २०७७
स्वदेश फर्किएपछि कतिलाई लाग्यो होला यस्तो गहिरो चोट ?

पाँच वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया उड्दा उनको मनमा धेरै चिन्ता थियो । रोजगारदाता कम्पनी कस्तो होला ? काम सजिलो छ वा गाह्रो ? जानेक्रममा लागेको ऋण नै पो तिर्न नसकिने हो कि !

तर, एकाएक मन रोमाञ्चित बन्थ्यो । सबै राम्रो हुनेछ, सजिलो काम गर्ने र राम्रो दाम कमाउने अवसर पक्कै मिल्नेछ । उनी त्यो कल्पनामा झन् रमाउँथे जब आफू पैसा कमाएर घर फर्किएको क्षणबारे सोच्थे । स्वदेश फर्कँदा आफन्तमा देखिने खुसी । साथीभाइको आत्मीयता । छरछिमेकको माया, प्रेम र सद्भाव । ‘कहिले आइस्’ र ‘कहिले फर्कने’ प्रश्नबाट हुनुहुने संवादको मजा । विदेशमा देखेका र भोगेका अनुभव र ज्ञानको सम्प्रेषणबाट प्राप्त हुने सन्तुष्टिको कल्पनाले सबै कुरा बिर्साउन्थ्यो । 

उनले सोचेजती दुख पाएनन् विदेशमा । तर, घर फर्कँदाको पीडा भने अकल्पनीय रह्यो । खाटो नबस्ने घाउ झैँ सधैँ दुखी रहने गरी । यो भोगाई उदयपुरका गणेश कार्कीको हो । कामको कन्ट्रयाक सकिएर उनी गत मार्च २८ मा घर फर्कने तरखरमा थिए । तर, त्यस अघि नै नेपालमा लकडाउन सुरु भयो । उनी उतै अड्किए । झन्डै तीन महिना बेरोजगार भएर बस्नु पर्यो । त्यो समय कामविहीन भएर ज्यान पाल्न अनेकन् समस्या झेल्नु  पर्यो । त्यसमाथि कोरोनाको जोखिम त छँदै थियो । 

जे भए पनि उनलाई परदेशमा सबैको साथ र सहयोग मिल्यो । त्यहाँको दुःख तीन महिनामा टर्यो  । उद्धार उडान मार्फत असार ६ गते उनी नेपाल आइपुगे । सोही साँझ उनलाई खरिपाटीमा रहेको क्वारेण्टीनमा पुर्‍याइयो । 

खरीपाटीमा बसेको केही दिन पछि उनीसहित प्रदेश १ का अरूलाई सम्बन्धित जिल्ला लैजानका लागि गाडीमा राखियो । पिसिआर परीक्षण, र्यापिड टेष्ट गराएका र जाँच नै नगरी आएकालाई फरक फरक गाडीमा राखेर नेपाली सेनाले प्रदेशको होल्डिङ्ग सेन्टरमा लैजान प्रयोग गरेको  गाडी बेलाबेला रोकिन्थ्यो । त्यो पनि जङ्गलमा । 

जङ्गलमा शौच गरिसकेपछि गाडी आफ्नै गतिमा अघि बढ्थ्यो । उनीहरू कसैको साथमा खानेकुरा केही थिएन । खानेकुरा किन्न मिल्ने ठाउँमा गाडी रोकिएन । निकै अनुरोध गरेपछि बल्लबल्ल सिन्धुलीको खुर्कोटमा चालकले गाडी त रोके तर स्थानीयले विदेशबाट फर्किएको थाहा पाएपछि बाहिर निस्कन पनि दिएनन् ।  चुपचाप गाडीमा अघि बढ्नुबाहेक विकल्पै रहेन । 

भोकले खाली भएको पेट त्यो व्यवहारबाट भरियो । सबै जना भोकै/तिर्खै आफ्नो प्रदेशको होल्डिङ सेन्टरसम्म पुगे । पीसीआर रिपोर्ट नेगेटिभ आएकालाई सेनाले आफन्त बोलाउँदै होम क्वारेनटाइनमा पठायो । उनीपनि आफन्तको जिम्मामा घर तर्फ लागे । 

तर, जब फर्किए तब सोच्दै नसोचेका दुःख र दुर्व्यवहार सहनु पर्यो  सावधानी अपनाउनु भन्नु त परको कुरा, विदेशबाट आएको भन्दै सबैले छि:छि-दुरदुर गरेको  घटनाले असाध्यै पोल्यो, गणेशलाई । कोरोनाको जोखिमबाट बच्दै स्वदेश आइपुग्दा मानिसले गरेको व्यवहार देख्दा उनको मन अमिलो भयो, भित्र गहिरो चोट लाग्यो । 

उनी भन्छन्, ‘विदेशबाट जे सोचेर आइएको थियो, यहाँ आउन साथ भोग्नु परेको त्यो व्यवहारले मनमा साह्रै नराम्रो लाग्यो ।’ ‘स्वदेश आएर गल्ती पो गरिएछ कि भन्ने लाग्दैछ । तर, आफ्नो देश, आफ्नो घर नआएर कहाँ जानु ?’ उनी भन्छन्, ‘परदेशमा दुःख थियो । खल्ती खाली थियो । तर, भेदभाव थिएन । कोरोना सर्न सक्छ भनेर मानिस सचेत थिए । विदेशमा मानिस देख्नासाथ तर्सने र तर्कने गर्दैनन् थिए ।’

उनी कोरोना नेगेटिभ भएको रिपोर्ट बोकेर एक महिनादेखि होम क्वारेनटाइनमा बसिरहेका छन् । नेपाली सेनाले उनलाई बेला बेलामा नेपाल सरकारले दिएको नम्बरमा फोन गरेर उनको हाल खबर बुझिरहन्छन् । तर, दुःखमा परेर सहारा खोज्दै आफ्नो गाउँ ठाउँ फर्कँदा स्थानीयले   गरेको व्यवहार भने मनबाट हटेको छैन । र, शायद हट्ने छैन ।
 

प्रतिक्रिया दिनुहोस