aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

बिहीवारदेखि विक्री गर्ने तयारीमा रहेको माउन्टेन इनर्जीको आईपीओ स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०७ साउन २०७७
बिहीवारदेखि विक्री गर्ने तयारीमा रहेको माउन्टेन इनर्जीको आईपीओ स्थगित

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले साउन ८ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि विक्री गर्ने भनिएको आईपीओ स्थगित भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गर्न लागेको थियो । हाल देशका अधिकांश स्थानमा बाढीपहिरोको समस्याका कारण प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिने भएकाले अर्को सुचना जारी नभएसम्मका लागि आईपीओ विक्री स्थगित गरिएको कम्पनीले बुधवार सुचना जारी गर्दै जानकारी गराएको हो ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि रू.१९ करोड ६८ लाख २ हजार ७०० बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्री गर्न लागेको थियो । दोस्रो चरणमा सर्वसाधारणका लागि पनि सोहि रकम बराबरको आईपीओ विक्री गर्नेछ । कम्पनीले स्थनिय र सर्वसाधारणका लागि गरि कुल  रू. ३९ करोड ३६ लाख ५ हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार २५ गते अनुमति पाएको थियो । कम्पनीले आयोजना प्रभावित स्थानियका लागि छुट्याएको कुल कित्तामध्य नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर छ्ट्याएको छ । 

यो आइपीओ विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेड रहेका छन् । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले वित्तीय अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । 

नुवाकोट जिल्लाको अति प्रभावित अन्नपूर्ण गाउँपालिका वडा नं. ४ (साविकको नारच्याङ गाविस) र तादी गाँउपालिका वडा नं २, ३ र ४ (साविकको रालुकादेवि र सुन्दरदेवि गाविस) हुन भने तादी गाँउपालिका पन्चकन्या गाँउपालिका र लिखु गाँउपालिका प्रभावित क्षेत्र हुन । त्यस्तै म्याग्दीका अन्नपुर्ण गाँउपालिका वडा नं ४ अतिप्रभावित क्षेत्र हो भने अन्नपुर्ण गाँउ पालिका प्रभावित क्षेत्र हुन । यस कम्पनीले म्यादी जिल्लामा ३८ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहको छ ।
 

प्रतिक्रिया दिनुहोस