
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले साउन १६ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) विक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता साधारण शेयर सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेको हो । प्रतिशेयर रू. १०० अंकित दरको ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरि बाँकी रहेको शेयर कम्पनीले सर्वसाधारणका लागि विक्री गर्न लागेको हो ।
यो आईपीओ खरिद गर्न चाहनेहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ । यो आईपीओ छिटोमा साउन २१ गते र ढिलोमा भदौ ३ गतेसम्म विक्रीमा रहनेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ खरिदका लागि लगानीकर्ताले आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
यस आईपीओलाई केयर रेटिङ्गस् नेपालले कम्पनीको आधारभूत पक्ष औषतभन्दा कमजोर रहेको संकेत गर्ने केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू.७९ करोड २८ लाख ७७ हजार ५०० रहेको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार १०० पुग्नेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कम्पनीले २ करोड ४१ लाख ७० हजार रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। यस अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०२ रुपैयाँ १३ पैसा र प्रतिशेयर आम्दानी २ रुपैयाँ ४ पैसा कायम हुने प्रक्षेपण गरेको छ।
प्रतिक्रिया दिनुहोस