
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा लाभांश नदिने भएको छ । देशमा भैरहेको लकडाउनका विच गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको यस कम्पनीले चैत ४ देखि ७ गतेसम्म आईपीओ विक्री खुला गरेको थियो ।
जेठ २८ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको यस कम्पनीको शेयरप्रति लगानीकर्ताहरुको आकर्षण उच्च देखिएको छ । कम्पनीको शेयरमूल्य बृद्धि सँगै गत साता सर्वाधिक कारोबार गर्ने दश कम्पनीमध्य पहिलो नम्बरमा समेत पर्न सफल भएको छ ।
आइपीओपछि रू. १० अर्ब चुक्तापूँजी कायम गरेको कम्पनीले आर्थिक वर्ष २०७७/८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पु¥याउने प्रक्षेपण गरेको थियो । यस आधारमा आर्थिक वर्ष २०७५/७६ को सञ्चित मुनाफाबाट ५ प्रतिशत बोनस शेयर दिने कम्पनीको योजना प्रष्ट देखिएको थियो ।
बीमा समितिले साउन ७ गते कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण स्वीकृत गरेको छ । वित्तीय विवरण स्वीकृत भएपनि पुनर्बीमकले आफ्नो व्यवसाय गर्दा बचत भएको रकम कम्तिमा पाँच वर्षसम्म मुनाफाको रुपमा बाँडफाँट नगरी अनिवार्य जगेडा कोषमा राख्नुपर्ने व्यवस्था अनुसार उक्त वर्ष लाभांश वितरण गर्न नसकिने कम्पनीले जानकारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस