
के तपाई कल्पना गर्न सक्नुहुन्छ ? कसैको जुँगाको कारण हंगामा नै हुनसक्छ । अनि विवाद समाधान गर्न कसैले जुँगाकै बलिदान दिनुपर्यो भने त्यस्तो अवस्थालाई के भन्ने ?
हो यस्तै भएको छ । यो घटना दक्षिण कोरियामा घटेको हो । अनि जुँगा काट्न बाध्य बनेका व्यक्ति चाहिँ हुन् दक्षिण कोरियाका लागि अमेरिकी राजदूत । राजदूत ह्यारी ह्यारीसले आफ्नो जुँगाको ‘क्लिन सेभ’ गरेपछि भने विवाद रोकिएको छ ।
दक्षिण कोरिया र अमेरिकाबिच सैन्य सम्बन्ध छ । त्यहाँ २८ हजार ५ सय सैनिक तैनाथ छन् । गत वर्ष दुई देशबिच केही मतभेद समेत सिर्जना भएको थियो । उत्तर कोरियाको विषयलाई लिएर बढेको मतभेद सुरक्षा खर्चको सम्बन्धमा पनि जोडिएको थियो ।
यो सबै विषयमा चर्चा चलिरहँदा ह्यारी समेत विवादको केन्द्रमा रहे । उनलाई मनोमानी ढंगले काम गरेको आरोप लगाइयो । यहाँसम्म की उनको जुँगाको विषय समेत बहसको केन्द्रमा रहे । अन्ततः उनले शनिवार सामाजिक सञ्जाल ट्विटरमा एउटा भिडियो अपलोड गरे । जसमा उनी सोल स्थित एउटा परम्परागत कोरियाली सैलुनमा आफ्नो जुँगा काटिरहेको देखिन्छन् ।
सियोल स्थित अमेरिकी दूतावासको आधिकारिक ट्विटर एकाउन्टमा उनले लेखेका छन्, ‘सियोल सहरको गर्मीमा कोरोना महामारीको कारण मास्क लगाउन समस्या भइरहेको थियो । त्यसैले क्लिन सेभ गर्ने फैसला गरे ।
यसअघि गत जनवरीमा उनको जुँगाबारेको चर्चा राजनितिकरुपमा समेत निकै संवेदनशील बनेको थियो । अमेरिकी नौ सेनाका एडमीरल रहिसकेका ह्यारीले आफ्नो जुँगा बढाएर भेट्न आउने मानिसहरूको अपमान गरेको आरोप लागेको थियो ।
धेरै कोरियालीहरू ह्यारीको जुँगाले आफ्नो मुलुकमा जापानको उपनिवेश रहेको समयलाई याद दिलाएको भन्ने गरेका थिए । त्यसो त उनको पारिवारिक पृष्ठभूमिका कारण पनि यसो भनिएको हो । किनकि ह्यारीको आमा जापानी मुलकी हुन् भने पिता अमेरिकी हुन् । त्यसैले, सन् २०१८ को जुलाइमा ह्यारी दक्षिण कोरिया जानेसाथ उनको जुँगालाई जापानी उपनिबेशकालका ८ जना गभर्नर जनरलहरूको जुँगासङ तुलना गरिएको थियो । बीबीसीको सहयोगमा
प्रतिक्रिया दिनुहोस