काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मा ८४ करोड ७१ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २६.४०% ले बढी हो ।
अघिल्लो वर्ष यसैअवधिमा बैंकले ६७ करोड १ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार आएपछि खुद नाफा पनि माथि लागेको हो ।
यसअवधिमा खुद ब्याज आम्दानी ८.४९% ले बढेर १ अर्ब २३ करोड ६ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले १ अर्ब १३ करोड ४३ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, सञ्चालन नाफा पनि १४.६०% ले बढेर १ अर्ब १० करोड १६ लाख ५८ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसले ९६ करोड १२ लाख ५० हजार रुपैयाँ मात्र नाफा कमाएको थियो ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्कासन गर्ने तयारी गरेको छ । यसका लागि बैंकले नागरिक लगानी कोषलाई अण्डराइटर (प्रत्याभूतिकर्ता) को जिम्मेवारी पनि दिइसकेको छ ।
नेपाल सरकारको समेत लगानी रहेको नेपाल इन्फ्रास्ट्रचर बैंक नेपालकै पहिलो पूर्वाधार विकास बैंक हो । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अधिकृत पुँजी ४० अर्ब तथा जारी पुँजी २० अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी पनि २० अर्ब रुपैयाँ पुग्नेछ ।
यसले जलविद्युत, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनामा स्रोत लगानी गर्ने उद्देश्य यसले राखेको छ ।
यो बैंकले मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी त्यस प्रकारका परियोजनाहरुलाई आवश्यक पर्ने स्रोत उपलब्ध गराउनेछ । यसको प्रतिसेयर आम्दानी आम्दानी ७ रुपैयाँ ०६ पैसा छ । जगेडा कोषमा १ अर्ब ६३ करोड ६७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
वार्षिक साधारण सभा मार्फत आईपीओको प्रस्ताव पारित गरिसकेको कम्पनीले प्रकृयागत रुपमा काम भैरहेको बताएको छ ।
प्रतिक्रिया दिनुहोस