
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने बुधवार अन्तिम दिन रहेको छ । यस कम्पनीले साउन १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको हो ।
कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत विक्रीमा ल्याएको हो ।
यस आईपीओमा मंगलवार साझ ५ बजेसम्म ४ दशमलव ४४ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलले दिएको जानकारी अनुसार यस अवधिसम्म ३ लाख ३४ हजार २९२ जना आवेदकले १ करोड ४० लाख ५३ हजार ७६० कित्ता आईपीओ खरिदका लागि आवेदन दिएका हुन । जुन मागभन्दा ३ दशमलव ५० गुणा बढी हुन आउछ ।
विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द हुन लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्न सकिन्छ । सि–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयर मार्फत आफैले घरमै बसेर दिन आवेदन दिन सकिने व्यवस्थाका कारण दुई दिन सार्वजनिक विदा परेपनि कुनै असर देखिएको छैन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको संस्थापकतर्फबाट चुक्ता पूँजी रू. ३३ करोड ९८ लाख ४ हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस