
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले यस अघि विक्री हुन नसकेको हकप्रद शेयर बुधवारदेखि विक्री खुला गरेको छ । कम्पनीले गत असार १४ गतेबाट साउन ४ गतेसम्म हाल कायम चुक्तापूँजीको ३० प्रतिशत दरको ३१ लाख ७१ हजार ९३२ कित्ता शेयर बिक्री खुला गरेको थियो । त्यस अवधिमा विक्री हुन नसकेको शेयर कम्पनीले लिलामीमा विक्री गर्न लागेको हो । सर्वसाधारण समूहको ८७ हजार ४१२.८ कित्ता शेयर लिलामी बिक्री खुला गरेको हो ।
उक्त शेयरको न्यूनतम रू. १०० तोकिएकाले लिलाम बढाबढ गर्दा सो भन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ । साउन २८ गतेसम्म गोप्य शिलवन्दी पेश गर्नुपर्ने यो शेयर खरिद गर्न चाहनेहरुले न्यूनतम ५० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट र यसको शाखा कार्यालय पुतलीसडक, लगनखेल, पोखरा, वीरगञ्ज, बुटवल र विराटनगरबाट पनि आवेदन दिन सकिनेछ ।
त्यस्तै , नेपाल इन्भेष्टमेन्ट बैंकको नारायणगढ, हेटौंडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढी शाखा र ग्रीन डेभलपमेन्ट बैंक हरिशंकर रोड बाग्लुङबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । शिखरले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ५ करोड ७३ लाख १० हजार को आधारमा ३० प्रतिशत हकप्रद विक्री गरेको थियो । यो हकप्रद शेयर पूर्ण रुपमा विक्री भएपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३७ करोड ४५ लाख ३ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस