aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद साउन २२ गतेदेखि लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ साउन २०७७
एनएलजी इन्स्योरेन्सको अवितरित हकप्रद साउन २२ गतेदेखि लिलामीमा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले अवितरित हकप्रद शेयर साउन २२ गते बिहीवारदेखि लिलामीमा विक्री गर्ने भएको छ ।

कम्पनीले फागुन २२ गतेदेखि असार २५ गतेसम्म विक्री खुला गरेको ६० प्रतिशत हकप्रद शेयर मध्य १ लाख ६१ हजार ७६ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । कुल कित्तामध्य संस्थापकतर्फ ८१ हजार २२४ दशमलव ७५ कित्ता र सर्वसाधारण तर्फ ७९ हजार ८५३ दशमलव २५ कित्ता रहेको छ । 

यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो भन्दा बढी मूल्य अंकित गरि साउन २९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा दुवै तर्फको शेयरका लागि न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ता माग गर्न सकिनेछ । बोलपत्र विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँबानेश्वर, काठमाडौं र लक्ष्मी बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौडा, नारायणगढ, बुटवल, बीरगंज, बाग्लुङ, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर शाखामा प्राप्त गर्न र बुझाउन सकिनेछ । साथै एनएलजी इन्स्योरेन्स कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । 

कम्पनीले माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा कारोबार भई कायम साविक शेयरधनीहरुका लागि ६० प्रतिशतका दरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० कित्ता हकप्रद शेयर विक्री खुला गरेको थियो । 

कम्पनीले रितपूर्वक आवेदन दिने आवेदकहरुलाई ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता हकप्रद शेयर साउन ९ गते बाँडफाँट गरेको हो । हाल रू. ६४ करोड ४ लाख ६ हजार चुक्तापूँजी रहेको कम्पनीले रू. १ अर्ब पूँजी कायम गर्न हकप्रदको सहारा लिएको हो ।
 

प्रतिक्रिया दिनुहोस