काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा माग भन्दा ५ गुणा बढी आवेदन परेको छ । विक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साउन २१ गते साझ ५ बजेसम्म ४ लाख २८ हजार १५३ जनाले यो आईपीओ खरिदका लागि आवेदन दिएका छन् । यी आवेदकहरुबाट १ करोड ६५ लाख ६७ हजार ६०० कित्ताको लागि आवेदन परेको क्यापिटलले जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत ३१ लाख ६० हजार १८३ कित्ता आईपीओ विक्री गरेको हो । सर्वसाधारणका लागि छुट्याइएको कुल ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ मध्य १ लाख ६९ हजार ९०२ कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीलाई सुरक्षित राखी बाँकी रहेको उक्त शेयर सार्वजनिक निष्कासन मार्फत कम्पनीले विक्री गरेको हो ।
विक्रीका लागि छिटो अवधि साउन २१ गते र ढिलो अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको थियो । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्रै आईपीओ विक्री बन्द गरिएको छ । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । कम्पनीको आईपीओलाई केयर रेटिङ नेपाल लिमिटेडले औषतभन्दा तलको आधारलाई संकेत गर्ने केयर एनपीआईपीओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हाल यस कम्पनीको संस्थापकतर्फबाट चुक्ता पूँजी रू. ३३ करोड ९८ लाख ४ हजार रहेको छ । आईपीओ पश्चात यो पूँजी रू. १ अर्ब १३ करोड २६ लाख ८२ हजार पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस