aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
सिंगल फेज

स्मार्ट मिटर जडान शुरु, पैसा नतिरे अनलाइनबाटै विद्युतको लाइन काट्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ साउन २०७७
स्मार्ट मिटर जडान शुरु, पैसा नतिरे अनलाइनबाटै विद्युतको लाइन काट्न मिल्ने


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिंगल फेज मिटर हटाएर स्मार्ट मिटर जडान गर्न शुरु गरेको छ । घरायसी ग्राहकको घरमा जडान गरिएका सिंगल फेज मिटर हटाएर प्राधिकरणले नयाँ मिटर जडान गर्न लागेको हो । आज आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा स्मार्ट मिटर जडान कार्यको थालनी गरेका हुन् ।  

मन्त्री पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको थालनी गरेका हुन् । सो अवसरमा उनले संघीय राजधानीलगायत मुलुकका मुख्यमुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने बताए । ‘सहरी सौन्दर्य बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम स्वरुप आज स्मार्ट मिटर जडान गरिएको उनले जानकारी दिए ।

हाल मुलकभर करीब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्र अन्तर्गतका ग्राहकहरूको घरमा जडान गरिएको सिंगल फेज र थ्री फेज गरी करीब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने योजना प्राधिकरणले बनाएको छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने बताए । काठमाडौं उपत्यकामा रहेका करिब ४ लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको समेत घिसिङले जानकारी दिए ।

‘यो योजना कार्यान्वयन भएपछि २ हजार ५सयदेखि ३ हजारसम्म कर्मचारी  कटौती गरेर खर्च जोगाउन सक्ने बताए । 
यसका साथै प्राधिकरणले पहिलो चरणमा देशभरका ८ हजार २२२ टीओडी (टाइम अफ डे) मिटरहरूलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करीब १ लाख २५ हजार थ्री फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिरहेको छ ।
 

स्मार्ट मिटरबाट के छन् फाइदा

आम ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिएपछि कर्मचारीहरूले ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्दैन । कार्यालयमा बसेरै विद्युत् प्राधिकरणका कर्मचारीले ग्राहकको घरमा खपत भएको विद्युत्को मिटर रिडिङ गर्न सक्नेछन् । 

स्मार्ट मिटरमा विद्युत् खपत युनिट केन्द्रीय प्रणालीमा समेत प्रसारण हुने भएकाले केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने भएको हो । विद्युत् महसुुल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन मार्फत काट्न सकिने प्राधिकरणले जनाएको छ । 

यसबाट विद्युत् चुहावट समेत नियन्त्रण गर्न सकिने घिसिङले बताए । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजे त्यसको जानकारी केन्द्रमा हुने हुँदा विद्युत् चुहावट नियन्त्रण गर्न सहज हुनेछ । 

साथै स्मार्ट मिटरमा पिक, अफ पिक र नर्मल समय अनुसार फरक–फरक महसुल तोक्न सकिनेछ । जस्तै, वर्षायाममा बढी विद्युत् उत्पादन भएको बेला सस्तोमा र हिउँदमा महँगोमा विद्युत् बिक्री गर्न सकिने छ ।  स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकले इच्छा अनुसार पोष्टपेड र प्रि–पेड भुक्तानी गर्न सक्नेछन् । ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्ने प्राधिकरणले जनाएको छ ।


 

प्रतिक्रिया दिनुहोस