नायक सुशान्त सिंह राजपूतको रहस्यमय मृत्युपछि बलिउडमा फैलिएको मूलधारका कलाकार प्रतिको विकर्षण नायिका आलिया भट्ट अभिनीत नयाँ चलचित्र ‘सडक २’ बाट प्रमाणित हुने भएको छ । बक्स अफिसमा आलियाले अभिनय गरेका प्रायः सबैजसो चलचित्रले बम्पर व्यापार गर्दै आएकोमा अब सडक २ ले भने निर्मातालाई नराम्ररी डुबाउने देखिएको छ ।
यूटुबमा सो फिल्मको ट्रेलर सार्वजनिक भएकै दिन दर्शकहरूले दिएको प्रतिक्रिया हेर्दा सुशान्तको मृत्यु बलिउडका घरानियाहरुका लागि निकै महँगो साबित हुने देखिएको हो ।
पहिला दिनमा नै १५ लाख भन्दा बढी दर्शकहरूले सो सिनेमाको ट्रेलर हेरेर ७४ हजारले मात्र मन पराएका छन् भने ८ लाख ८९ हजारले ट्रेलरलाई डिसलाइक गरेका छन् । अहिलेसम्म त्यसमा ९० हजार ९ सय बढीले कमेन्ट गर्दै यो ट्रेलरलाई हालसम्मकै सर्वाधिक डिसलाइक गरिएको भिडियो बनाउन आव्हान गरेका छन् ।
चलचित्र निर्माताले बलिउडका सफल नायक सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको खुलासा भएको र उनी उपचारको लागि अमेरिका प्रस्थान गरेको समाचार सार्वजनिक भएकै दिन उनको समेत अभिनय रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरेर सहानुभूति बटुल्ने योजना गरेका थिए । तर, बलिउडमा देखिएको नेपोटिज्मको बहसले विश्वव्यापीकरण आलिया भट्ट विरुद्ध फैलाएको घृणालाई सञ्जय दत्तको पछिल्लो अवस्थाले नियन्त्रण गर्न सकेन ।
नायक सुशान्त सिंह राजपूतको निधनपछि सुरु भएको नेपोटिज्मको बहसले आलियालाई सर्वाधिक घाटा लाग्ने देखाएको छ । दर्शकले बहिष्कार गर्न थाले भने कलाकारको स्टारडम कसरी तल झर्छ भन्ने उदाहरण ‘सडक २’ बनेको छ ।
यसमा देखिएको डिसलाइकको कारण आलिया मात्र होइनन् बरु पुरै भट्ट परिवार र कपुर खानदानसमेत सो फिल्ममा जोडिएका कारण डिसलाइकको बाढी देखिएको हो । महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा सञ्जय दत्त, पूजा भट्ट, आलिया भट्ट, आदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।
यो चलचित्र अगस्ट २८ मा हटहस्टारबाट रिलिज हुँदैछ ।
प्रतिक्रिया दिनुहोस