
काठमाडौं । भदौ ४ गतेदेखि निष्कासनमा आउन लागेको समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफको आईपीओ नरोकिने भएको छ । उपत्काभित्र जारी गरिएको निषधाज्ञाका कारण विक्री रोक्दा बाहिरी जिल्लाका लगानीकर्तालाई अन्याय हुने भन्दै दुवै कम्पनीको आईपीओ विक्री खुला गर्न लागिएको हो ।
रिलायन्स लाइफको विक्रि प्रवन्धक सानिमा क्यापिटलले रिलायन्स लाइफको आईपीओ निर्धारित समयमा नै विक्रि हुने जनाएको छ । सानिमा क्यापिटलका प्रमुख मन्दिप लुईटेलले भने, ‘धितोपत्र बोर्डले निष्काशनको क्रममा रहेका आईपीओहरु नरोक्नु भनेकाले रिलायन्सको आईपीओ पनि रोकिदैन ।’
समाज लघुवित्तले ८० हजार ७०० कित्ता र रिलायन्स लाइफले ५६ लाख ७० हजार कित्ता आईपीओ सार्वजनिक निष्कासन मार्फत विक्री खुला गर्न लागेका हुन । हाल प्राथमिक बजार पूर्ण प्रविधिमैत्री बनिसकेकाले दुवै कम्पनीको आईपीओ विक्री नरोकिने भएको हो । समाज लघुवित्तले प्रतिशेयर रू. १०० अंकित दरको ८६ हजार कित्ता शेयरमध्य १ हजार कित्ता कर्मचारीहरुका लागि र ४ हजार ३०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो भने रिलायन्स लाइफले प्रतिशेयर रू. १०० अंकित दरको कुल ६३ लाख कित्ता शेयरमध्य ३ लाख १५ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट पश्चात ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ५६ लाख ७० हजार कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गर्न लागेको हो । रिलायन्सको विक्री प्रबन्धकमा सानिमा क्यापिटल र समाज लघुवित्तको विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।
रिलायन्सको आईपीओ खरिदका लागि छिटोमा भदौ ८ गते र ढिलोमा भदौ २२ गतेसम्मको समय तोकिएको छ भने समाजको छिटोमा भदौ ८ र ढिलोमा भदौ १८ गतेसम्मको समय तोकिएको छ । रिलायन्सको आईपीओ खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ६३ हजार कित्तासम्म माग गर्न सकिनेछ भने समाज लघुवित्तको शेयर खरिदका लागि न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित रिलायन्स लाइफले आईपीओ विक्री गर्न साउन १६ गते र समाज लघुवित्तले साउन २१ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डको अनुमति पाएको हो । समाज लघुवित्तको जारी पूँजी रू. २ करोड रहेको छ । हाल संस्थापकहरुबाट चुक्ता भएको पूँजी रू. १ करोड १४ लाख रहेको छ । सर्वसाधारणका लागि यो आईपीओ जारी पश्चात समाज लघुवित्तको जारी पूँजी अनुसारको रकम कायम हुनेछ । आईपीओ पश्चात संस्थापकतर्फ ५७ प्रतिशत र सर्वसाधारण तर्फ ४३ प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।
त्यस्तै हाल रू. १ अर्ब ४७ करोड चुक्तापूँजी रहेको रिलायन्स लाइफले बीमा समितिले तोके बमोजिम रू. २ अर्ब चुक्तापूँजी कायम गर्न आईपीओ जारी गर्न लागेको हो । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब १० करोड पुग्नेछ । आईपीओ पश्चात कम्पनीमा शेयर स्वामित्व संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारण तर्फ ३० प्रतिशत कायम हुनेछ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा आस्बा सेवा अनिवार्य गरिएकाले आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तिय संस्था र मेरो शेयर खाता मार्फत घरमै बसेर आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस